-
नमोबुद्ध संवाददाता
न्युयोर्क–अमेरिकाको न्युर्योकस्थित तामाङ समाज अमेरिका र तामाङ सोसाइटी अफ न्युयोर्कबीच एकताका लागि पहल प्रक्रिया सुरु भएको छ । यि दुई संस्था एक गराउन हालै वार्ता समिति गठनको घोषणा गरियो । समूदायको हितका लागि दुबै संस्था एक हुने निश्कर्षमा पुगेको जारी विज्ञप्तिमार्फत स्पष्ट पारिएको छ ।
एकताको पहिलो प्रक्रिया अन्तरगत तामाङ समाज अमेरिकाबाट बुद्धिमान तामाङको संयोजनमा पाँच सदस्यीय वार्ता समिति गठन गरिएको छ । समितिमा समाजको तर्फबाट विनिता तामाङ, रोजबहादुर घिसिङ, तुलबहादुर तामाङ र दिलमाया तामाङ सदस्य छन् ।
तामाङ सोसाइटी अफ न्युयोर्कबाट दीपेन्द्र लामाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरिएको छ । वार्ता समितिमा लालमान तामाङ, छेमाङ लामा, निमा गोले र माया लामा सदस्य तोकिएका छन् ।
तामाङ समूदायमा सक्रिय दुई व्यक्ति अभियन्ता ङिमा पाख्रिन तामाङ र लुईसाङ वाईवा तामाङलाई वार्ताको मध्यस्थकर्ताको जिम्मेवारी दिईएको तामाङ समाज अमेरिकाकी अध्यक्ष सानुमाया तामाङ र तामाङ सोसाइटी अफ न्युयोर्ककी अध्यक्ष गोमा योञ्जन तामाङद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
मध्यस्तकर्ता द्धय यि दुई संस्थामा आ–आफ्ना तहबाट विगतदेखीनै अभिभावकिय रुपमा दिशानिर्देश समेत गरिरहेका व्यक्तित्वहरुनै भएको जनाउँदै वार्ता सफल हुने विश्वास समेत व्यक्त गरिएको छ ।
तामाङ समूदायमा सेवा गर्ने उद्धेश्यले सन् २००२ मा न्युयोर्कमा स्थापित तामाङ संस्था २०१८ मा विभाजित भएको थियो । विभाजनबाट नेपाली डायस्पोरामा समेत नकारात्मक असर पुगेकोले अन्ततगत्व एकतानै रोजेको दुवै संस्थाका पदाधिकारीहरुको तर्क छ ।
अब विगतबाट सिकेर अघि बढ्ने र यसअनुसार वार्ता सफल बनाउने प्रतिवद्धता दुवै संस्थाका नेतृत्वले व्यक्त गरेका छन् ।
संस्था एकता अभियानमा समाजका पूर्व अध्यक्षहरु र तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका अध्यक्ष लक्यान लामाले पनि सकारात्मक भुमिका निर्वाह गरिरहनुभएको जनाईएको छ ।
संयुक्त विज्ञप्ति हेर्नुहोस् :