
-
नमोबुद्ध संवाददाता
तेमाल–काभ्रेको तेमाल गाउँपालिकाको वडा नम्बर ३ र ४ मा पनि योजना सम्झौता तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
गाँउपालिका उपाध्यक्ष दुर्गा माया तामाङको संयोजकत्वमा ठुलोपर्सेलबाट थालिएको यसखाले कार्यक्रम वडा नम्बर ३ र ४ मा आइतबार सम्पन्न भएको हो ।
पालिका उपाध्यक्ष तामाङका अनुसार एकै दिन वडा नं ३ मा १६ वटा र वडा नं ४ मा १६ वटा गरि ३२ वटा विकास निर्माणका योजना सम्झौता गरिएको छ ।
आर्थिक वर्ष २०७६⁄०७७ का योजना अन्तरगत वडा कार्यालयको भवन निर्माण, सडक,खानेपानी, सिञ्चाई, मठ मन्दिर,कृषि जस्ता विषयका निर्माणसम्बन्धी योजनाहरु कार्यन्वयनका लागि सम्झौताका साथै अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो ।
पालिकाले उपभोक्ता समितिमार्फत गर्नुपर्ने निर्माण सम्बन्धी योजनाहरुको सम्झौता गाउँगाउँमा आएर गरिरहेको पालिका उपाध्यक्ष तामाङले जानकारी दिनुभयो ।
अन्य सफ्टवेरसम्बन्धी योजना भने सिधै पालिकामा प्रस्तावना पेश गरी कार्यन्वयन गर्न मिल्ने पालिका उपाध्यक्ष तामाङले बताउनुभयो ।
स्थानिय उपाभोक्ताहरुमाझ अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बेलैमा योजना सम्पन्न गर्नेतिर जुट्न आग्रह गर्नुभयो । सम्झौता भएका योजनाहरु चैत २५ भित्र सक्नेगरी तत्काल अगाडी बढाउन सकिने उहाँको सुझाव छ ।
उपभोक्ताहरु कागजी प्रक्रियामै झमेला वेहोर्नुपर्ने,जसका कारण पालिका केन्द्रमा बारम्बार धाउनुपर्ने अवस्थालाई मध्यनजगर गर्दै गाउँमै योजना सम्झौता र अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको उपाध्यक्ष तामाङले स्पष्ट पार्नुभयो ।
उहाँका अनुसार गाँउपालिकाले मंङसिर २५ गते सम्ममा सबै वडाका योजनाहरु सम्झौता गर्ने लक्ष्य लिएको छ ।
योजना सम्झौता तथा अभिमुखिकरण टोलीमा पालिका उपाध्यक्ष दुर्गा माया तामाङ,प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुईकेल,योजना शाखा प्रमुख राजकुमार तामाङ,स्थानिय वडाध्यक्ष,वडा सदस्यहरु,पालिका कर्मचारी सरस्वती त्रिपाठी,वडा सचिव लगायतको टोली खटिदै आएको छ ।