• नमोबुद्ध संवाददाता

महाभारत–काभ्रेको महाभारत गाउँपालिका भित्र भुकम्पबाट क्षति भएका विद्यालय भवनहरुको पुनःनिर्माणले पुर्णता पाउन थालेको छ ।

भौगोलिक विकटताले निर्माण सामाग्री ढुवानीमा समस्या,लागत उतारचढाव लगायतका समस्याले सुस्ताएको विद्यालयहरुको भवन निर्माणले पालिका नेतृत्वको पहलकदमीमा गति पाएको हो ।

जिल्ला आयोजना कार्यन्वयन इकाई(शिक्षा) ले जिम्मा लिएका विद्यालयका अधिकांश पक्की संरचनाहरुको निर्माण कार्य अन्तिम चरणमा रहेको गाउँपालिका प्रमुख कान्छालाल जिम्बाले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाभित्र २०७२ सालमा गएको भुकम्प बाट ४९ बिद्यालयको भौतिक संरचना पुर्ण रुपमा क्षति भएकोमा ४४ वटा विद्यालयको भवन निर्माण थालिएको थियो । जसमध्ये ३२ बिद्यालय भवनको पुनःनिर्माण सकेर समुदायमा हस्तान्तरण गरिसकिएको छ ।

अहिले महाभारत गापा वडा नम्बर ५ चार किल्लास्थित ग्रामोन्नती मावि,वडा नम्बर ६ गोल्टारमा रहेको गौलेश्वरी आवि,वडा नम्बर ७ मा रहेको जनकल्याण आवि,वडा नम्बर ६ को आजाद मावि र वडा नम्बर ८ घर्तिछापस्थित जनकल्याण मावि समुदायमा हस्तान्तरणको क्रममा छन् ।

यसक्रममा हालै बाँकी भवनहरुको निर्माणको काम समयमै सकाउन र केहि भवनको निर्माण थाल्न अनुगमन र निरीक्षण गरिएको छ ।

गत सोमबार जिल्लाबाट अनुगमनमा निस्किएको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)का प्रमुख द्ध्वरिका प्रसाद पोखरेल,पालिका अध्यक्ष जिम्बा, इकाईका इन्जिनियर सोभित श्रेष्ठ,स्थानिय जनप्रतिनिधि सम्मिलित टोलीले भवन निर्माण सकिएका,निर्माण अन्तिम चरणमा पुगेका र भवन निर्माण थाल्नुपर्ने विद्यालयहरुको अनुगमन तथा निरीक्षण गरेको हो ।

यहि क्रममा भैरवेश्वर आधारभूत विद्यालयको ६ कोठे भवनको हस्तारन्तरण गरिएको थियो । साथै आर्थिक वर्ष २०७६⁄०७७ मा सम्पन्न गर्ने गरी केहि विद्यालय भवनको शिलान्यास पनि गरिएको छ ।

वडा नम्बर १ स्थित गोकुले माविको चार कोठे भवन, वडा नम्बर ३ सानो पोखरा स्थित सिद्धेश्वर माविको चार कोठे भवन र वडा नम्बर ६ बनखु सल्लेनीमा रहेको जनमोहन माविको चार कोठे भवन हालै शिलान्यास गरि निर्माण थालिएको हो ।

भुकम्पले क्षति भए पश्चात निर्माण बाँकी रहेका पालिकाभित्रका विद्यालयहरुको पक्की भवनहरु समेत यहि आर्थिक वर्षभित्र सकाउने प्रतिवद्धता उहाँले जनाउनुभयो ।

उहाँले बेलैमा निर्माणको काम सम्पन्न गरी पठनपाठनमा सहज वातावरण बनाउन सहयोगी भुमिका खेल्न स्थानिय अभिभावकहरुलाई समेत आग्रह गर्नुभयो ।

जिल्लामा दातृ निकायहरुबाट बोलपत्र आह्वानमार्फत, राष्ट्रिय गैरसरकारी तथा अन्तराष्ट्रिय गैरसरकारी र विद्यालय ब्यवस्थापन समितिबाट गरी तीन तरिकाबाट विद्यालय भवनहरु पुनःनिर्माणको जिम्मा लिएको जानकारी दिनुहुदै इकाई(शिक्षा)का इञ्जिनियर श्रेष्ठले बाँकी रहेको बिद्यालयको पुनःनिर्माण पनि यो वर्षभित्रै सकिने बताउनुभयो ।

उहाँका अनुसार केही विद्यालयमा अब शौचालय निर्माणको काम मात्रै बाँकी छन् ।

                   फोटो सौजन्य : पालिका अध्यक्ष कान्छालाल जिम्बा

प्रतिक्रिया दिनुहोस !