-
नमोबुद्ध संवाददाता
काठमाडौं–नेकपाको कार्यकारी अध्यक्ष भएपछि पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग बिहिबार पहिलो पटक औपचारिक भेट गर्नुभएको छ ।
देउवा निवास बूढानीलकण्डमा भएको भेटमा प्रचण्डले आफूले पार्टीमा कार्यकारी अध्यक्षको हैसियत पाएको र सबै राजनीतिक दलसँग मिलेर अघि बढ्न चाहेको बताउनुभएको थियो ।
छिमेकी भारतले सिमाना मिचिएको सन्दर्भमा प्रचण्डले राष्ट्रियता तथा राष्ट्रिय हितका विषयमा सबै दल एक हुनुपर्ने भन्दै सघाउन आग्रह गर्नुभयो ।
भेटमा देउवाले राष्ट्रहितका विपक्षमा आफू कहिल्यै नजाने बताउनुभयो । बरु सरकारले विपक्षीलाई पेलेको गुनासो देउवाले गर्नुभएको स्रोतले बतायो ।
केही समयअघि भारतीय पक्षबाट अतिक्रमणका परेको पश्चिम नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रबारे दाहाल र देउवाबीच सार्वजनिक कार्यक्रममै जुहारी चलेको थियो । तर यो भेट निकै शिष्टाचार देखिएको बताईएको छ ।
देउवाले नेकपाको कार्यकारी अध्यक्ष भएकोमा प्रचण्डलाई बधाई पनि दिनुभएको छ । कार्यकारी अध्यक्षको जिम्मेवारी पाएको पन्ध्रौं दिन बिहीबार राजनीतिक भेटघाटका क्रममा उहाँले बधाई व्यक्त गर्नुभएको हो ।
नेकपाको कार्यकारी अध्यक्ष भएदेखी विभिन्न व्यक्तिहरुसँग भेटघाटलाई बाक्लो बनाएका दाहाल प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका देउवालाई भेट्न उहाँकै निवास बूढानीलकण्ठ पुग्नुभएको थियो ।
“उहाँहरूबीच भएको शिष्टाचार भेटमा वधाई व्यक्त गरिनुका साथै केहि समसामयिक कुराकानी भएको छ, देउवाले दाहालसँग प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जिज्ञासा पनि राख्नुभयो ।” सहभागि एक नेताले भने ।
उहाँहरुबीच सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी आयोग लगायतका संवैधानिक निकायहरूमा पदपूर्ति, विधेयक निर्माणलगायत विषयमा पनि छलफल भएको ति नेताले जनाए ।