• नमोबुद्ध संवाददाता

सस्र्यूंखर्क–काभ्रेको तेमाल गाउँपालिकाका उपाध्यक्ष दुर्गामाया तामाङले आफूहरु जनताको सेवामा कटिवद्ध भएर लागेको बताउनुभएको छ ।

मंगलबार तेमाल गापा वडा नम्बर २ को योजना सम्झौता तथा अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताले दुख नपाउन् भनेर घरदैलोमा आएको बताउनुभयो ।

“स्वाभाविक रुपमा हामी समृद्धिको यात्रामा छौं,यस अर्थमा हामी चाँडो विकास चाहन्छौं,यिनै विकास निर्माणका लागि पालिका केन्द्रसम्म बारम्बार धाउनुपर्ने अवस्थालाई मध्यनजर गर्दै योजना सम्झौताका लागि हामी आफैं गाउँगाउँमा आएका हौं ।”

उपाध्यक्ष तामाङले भन्नुभयो–“जनताले दुख नपाउन् भनेरनै सेवा दिन हामी गाउँबस्तीमा आयौं,जुन जुन योजना सम्झौता भएका छन्,चैत २५ गतेभित्र सम्पन्न गराउनुपर्छ त्यसैलेयहाँहरुले भोलीबाटनै काम सुरु गर्नुभए हुन्छ,प्रक्रिया अनुसार काम गरौं,अब यहाँहरु भुक्तानीका लागि मात्रै पालिका केन्द्र आउँदा हुने भयो ।”

यद्यपी पालिका सबै जनताको भएकोले अन्य सरसल्लाह तथा सरसहयोगका सम्बन्धमा पालिकाको ढोका सदैव खुल्ला रहने उहाँको भनाई छ ।

उहाँले यस खाले कार्यक्रमले विकास निर्माणका काम चुस्त,दुरुस्त र जिम्मेवारपूर्ण ढंगले कार्यन्वयनमा ल्याउन मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुईकेलले सवै जनप्रतिनिधि,कर्मचारी,स्थानिय नागरिकको हातेमालोको फलस्वरुप यसरी घरदैलोमा सेवा दिन सफल भएको बताउनुभयो ।

योजना शाखा प्रमुख राजकुमार तामाङले कुनैपनि योजना आवश्यकताको आधारमा पहिचान गरी अघि बढ्ने भन्दै त्यसलाई सफल बनाउने जिम्मेवारी उपभोक्ता समितिको पदाधिकारीको मात्रै नभएर सबै सदस्यहरुको पनि उत्तिकै रहने बताउनुभयो ।

योजना सम्झौता तथा अभिमुखिकरण टोलीमा पालिका उपाध्यक्ष दुर्गा माया तामाङ,प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुईकेल,योजना शाखा प्रमुख राजकुमार तामाङ,स्थानिय वडाध्यक्ष,वडा सदस्यहरु,पालिका कर्मचारी सरस्वती त्रिपाठी,वडा सचिव लगायतको टोली खटिदै आएको छ ।

यसअघि स्थानिय वडाध्यक्षको सहजिकरण र उपाध्यक्षको समन्वयमा पालिका केन्द्र नारायणस्थानमा योजना सम्झौता गर्दै आएको गाउँपालिकाले यस वर्षदेखी गाउँ तथा टोलवस्तीमै पुगेर धमाधम योजना सम्झौताका साथै अभिमुखिकरण कार्यक्रम जारी राखेको हो ।

यसअघि उपभोक्ता समितिका पदाधिकारीहरु पालिका केन्द्रमै धाउनुपर्दा खेप्नुपरेको समस्या अब हट्नुका साथै यसले विकास निर्माणलाई पारदर्शी र जवाफदेही बनाउन सहयोग पुग्ने नागरिक अगुवाहरु बताउँछन् ।

अभिमुखिकरण तथा वडा वडामै गएर योजना सम्झौता मङ्सिर२५ गतेभित्र सकाउने गाउँपालिकाको योजना रहेको छ ।

वडा नम्बर १ मा २१ र २ मा १६ वटा योजना सम्झौता

गत मंगलबार वडा नम्बर ६ ठूलोपर्सेलबाट थालिएको योजना सम्झौता तथा अभिमुखिकरण यो मंगलबारसम्ममा चुखा आईपुगेको छ ।

आर्थिक वर्ष २०७६/०७७ को नीति,कार्यक्रम र बजेट अनुसारको विकास योजना सञ्चालनका लागि थालिएको योजना सम्झौता कार्यक्रम सोमबार वडा नम्बर १ सस्र्यूंखर्क र मंगलबार वडा नम्बर २ चुखामा सम्पन्न गरिएको हो ।

वडा नम्बर १ मा २१ वटा योजना सम्झौता गरिएको वडाध्यक्ष मान वहादुर श्रेष्ठले जानकारी दिनुभयो । मंगलबार वडा नम्बर २ चुखामा १६ वटा योजना सम्झौता गरिएको वडाध्यक्ष तिमाल सिं तामाङले जानकारी दिनुभयो ।

सम्झौता भएका अधिकांश योजनाहरु भौतिक विकास निर्माण सम्बन्धी छन् । शिक्षा,खानेपानी,सिञ्चाई,बाटो निर्माण जस्ता शिर्षकका योजनाहरुको सम्झौता गरिएको वडाध्यक्ष द्धयले स्पष्ट पार्नुभयो ।

पालिका उपाध्यक्ष दुर्गा माया तामाङका अनुसार भौतिक विकास निर्माणवाहेकका अन्य कार्यक्रमहरु भने सम्झौता गर्नु पर्दैन । तालिम,गोष्ठी,सिप तथा क्षमता विकास,संस्कृति प्रवद्र्धनात्मक कामहरु पालिकामै प्रस्तावना ल्याएर पेश्कीमार्फत गर्ने सहज वातावरण बनाउन आफूहरु तयार रहेको उहाँले बताउनुभयो ।

थप फोटोफिचर :

प्रतिक्रिया दिनुहोस !