• नमोबुद्ध संवाददाता

ठूलो पर्सेल–काभ्रेको तेमाल गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ को नीति,कार्यक्रम र बजेट अनुसारको विकास योजना सञ्चालनका लागि मंगलबारदेखी स्थानीय बस्तीस्तरबाटै उपभोक्ता अभिमुखिकरण तथा योजना सम्झौता थालिएको छ ।

यसअघि स्थानीय वडाध्यक्षको सहजिकरण र उपाध्यक्षको समन्वयमा पालिका केन्द्र नारायणस्थानमा योजना सम्झौता गर्दै आएको गाउँपालिकाले यस वर्षदेखी घेरदैलोमै गएर भेला तथा सम्झौता गर्न थालेको हो ।

यसैक्रममा वडा नं ६ ठूलो पर्सेलबाट योजना कार्यान्वयनका लागि अभिमुखिकरण तथा सम्झौताको शुरुवात गरेको उपाध्यक्ष दुर्गा माया तामाङले जानकारी दिनुभयो ।

उहाँले स्थानीय जनतालाई सहज होस् भनेर आफूहरु घरदैलोमै आएका बताउनुहदै यसले विकास निर्माणका काम चुस्त,दुरुस्त र जिम्मेवारपूर्ण ढंगले कार्यन्वयनमा ल्याउन मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यसअघि उपभोक्ता समितिका पदाधिकारीहरु पालिका केन्द्रमै धाउनुपर्दा खेप्नुपरेको समस्या अब हट्नुका साथै विकास निर्माणलाई पारदर्शी र जवाफदेही बनाउन सहयोग पुग्ने नागरिक अगुवाहरु बताउँछन् ।

स्थानीय उपभोक्ताबाट जसोतसो काम हुने र फर्छ्यौट गर्न मुस्किल पर्ने जस्ता समस्याबाट जोगिन पनि पालिकाको यो कदम सकारात्मक रहेको उनिहरुको भनाई छ ।

गाउँपालिकाले उपभोक्ता भेला तथा योजना सम्झौतामा गरेको यसखाले सहजिकरणप्रति स्थानीय पनि खुसी देखिएका छन् ।

वडा नम्बर ६ ठूलो पर्सेलको उपभोक्ता अभिमुखिकरण तथा भेलालाई सम्बोधन गर्नुहुदै पालिका उपाध्यक्ष तामाङले उपभोक्ताहरुलाई आवश्यक छलफलबाट योजना निर्माण गरी गतिलो कार्यान्वयन सँगै फर्छ्यौटमा समेत ध्यान दिन आग्रह गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेलले टोल तथा बस्तीमा छुट्टाईएको बजेट सदुपयोग गर्दै दिगो विकासमार्फत यसबाट अधिकतम लाभ हाँसील गर्न कार्यन्वयनपूर्वदेखीनै वडाले यसखाले अभिमुखिकरण र सहजीकरण थाल्नुपर्ने धारणा राख्नुभयो ।

अभिमुखिकरण तथा योजना सम्झौता कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङ, प्रमुख प्रशसकिया अधिकृत लक्ष्मण कुईकेल,वडाध्यक्ष विकु मोक्तान तामाङ,योजना शाखा प्रमुख राजकुमार तामाङ,प्राविधिक कपिल भण्डारी, लोना श्रेष्ठ,सरस्वती त्रिपाठी,वडा सचिव रामराज खरेल लगायतको टोली खटेको थियो ।

मङ्सिर २५ गतेभित्र यसखाले अभिमुखिकरण तथा वडा वडामै गएर योजना सम्झौताको प्रारम्भीक काम सकाउने गाउँपालिकाको योजना रहेको छ ।

वडाध्यक्ष विकु मोक्तान तामाङका अनुसार पालिकाको सल्लाह बमोजिम टोलीको सहजीकरणमा वडा नम्बर ६ ठूलो पर्सेलमा छनौट भएका योजनाहरुलाई अगाडि बढाउन उपभोक्ता समितिसँग सम्झौता प्रकृया अगाडि बढाइएको छ ।

यस आर्थिक वर्षका लागि वडाबाट २९ र गाउँपालिकाबाट ४ गरी जम्मा ३३ वटा योजनाहरु मध्ये पहिलो चरणमा ७ वटा योजनाको सझौता गरिएको उहाँले जानकारी दिनुभयो ।

वडामा यस आर्थिक वर्ष सडकका साथै,पानी,शिक्षा,स्वास्थ्य, दलित जनजाति, महिला, बालबालिका लगायतका क्षेत्रमा भौतिक र प्रवद्र्धनात्मक कार्यक्रमहरु गरिदैछ ।

वडाध्यक्ष मोक्तानका अनुसार हाल तपशिलका योजनाहरुको सम्झौता सम्पन्न गरिएको छ :

१.सिङ्गटि खानेपानी निर्माण रु ७,००,०००/-

२.टवाङगल बिबिरे खोला खानेपानी निर्माण रु २,००,०००/-

३.मथान टोल खानेपानी निर्माण रु २,००,०००/-

४.भुमेशोरि खानेपानी निर्माण रु ३,००,०००/-

५.ओखर बोट खानेपानी निर्माण रु १,००,०००/-

६.वाङतेन माने मर्मत सम्भार रु २,०,०००/-

७.कोन्च्योसोम माने समुह भबन निर्माण रु ५,००,०००/-

                      तस्वीर सौजन्य : पालिका उपाध्यक्ष दुर्गामाया तामाङ

प्रतिक्रिया दिनुहोस !