• नमोबुद्ध संवाददाता

पाँचखाल–कृषि शहरको रुपमा चिनिने काभ्रेको पाँचखाल नगपालिकाभित्र गरिने खेतीपातीमा अत्याधिक विषादी प्रयोग भएका कारण मानव स्वास्थ्यमा गम्भीर समस्या देखिएको विषय त सेलाउएकै छैन ।

यसरी स्वास्थप्रतिको चिन्ता त छँदैछ,अत्याधिक विषादी र रासायनिक मलको प्रयोगले यहाँको माटोको गुणस्तरनै खस्किने चेतावनी कृषि तथा माटो विशेषज्ञहरुले दिदै आएको सन्दर्भमा हालै नगरपालिका १३ वटै वडाका विभिन्न स्थानहरुको माटोको नमुना संकलन जाँच(शिविर) गरिएको छ ।

यो मङ्सिर पहिलो साता ४ दिन लगाएर गरिएको माटो जाँचबाट विशेषज्ञहरुले चेतावनी दिएजस्तै यहाँको माटोमा समस्या देखिएको छ ।

माटो जाँच शिविरमा स्थानिय ५५० घरधुरीको ९८० वटा नमुनाहरु परीक्षण गरिएकोमा प्रारम्भिक नतिजा अनुसार नाईट्रोजन, पोटास र फस्फोरसको मात्रामा प्राय असन्तुलित देखिएको र ६० प्रतिशत नमुनामा अम्लिय र ४० प्रतिशत अधिक अम्लिय देखिएको शिविरमा सहभागि विशेषज्ञले जानकारी दिए ।

सबै नमुनाहरुको परिणाम विश्लेषण गरी कृषकहरुलाई आवश्यकता अनुसार मलखाद् र कृषि चून प्रयोग गर्न सिफरिस गर्ने तयारीका साथ शिविर आयोजना गरिएको थियो ।

पाँचखाल नगरपालिका, मसलाबाली अनुसन्धान केन्द्र, पाँचखाल र लवग्रीन नेपालको सहकार्यमा गरिएको माटो परीक्षणका क्रममा माटो विशेषज्ञ जापानको फुकुसिमा विश्व विद्यालयका प्राध्यापक डाक्टर नोबुहिरो कानेकोले कृषि उत्पादनको मुख्य जड नै माटो भएकोले यसको संरक्षण र गुणस्तरमा नै ध्यान दिन सुझाव दिनुभयो ।

उहाँले जथाभावी रासायनिक मल र विषादीको प्रयोग र बढी खनजोतलेनै माटोको गुणस्तरमा निकै असर पारेको स्पष्ट पार्नुभयो । यस सन्दर्भमा उहाँले माटोको अवस्थाप्रति सचेत रहा कृषकहरुलाई अनुरोध गर्नुभयो ।

लवग्रीन नेपाललका कार्यकारी निर्देशक नारायणप्रसाद ज्ञवालीले यस प्रति चिन्ता व्यक्त गर्नुभयो । विगत र पछिल्लो नतिजा हेर्दा यस क्षेत्रको माटामो निकै सुधार गर्नु पर्ने देखिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो –“माटो आमा हो माया गरौं, माटो जीवन हो संरक्षण गरौं ।”

नगर प्रमुख महेश खरेलले पाँचखाल उपत्यकाको माटोको गुणस्तरमा केही समस्या देखिएकोलेनै माटोमा सुधार यरी उत्पादन बढाई कृषकहरुको आम्दानी बढाउनका लागि बिगत तीन वर्षदेखि लवग्रीन नेपालसंग सहकार्य गरी माटो जाँच कार्य अगाडी बढाईएको बताउनुभयो ।

केहि दिन अघि नगरपालिकाले गरेको एक पत्रकार सम्मेलनमा नगरप्रमखु खरेलले पाँचखालको तरकारीमा बाहिर हल्ला गरेजस्तो विषादी नरहेको जिकिर गर्नुभएको थियो । यद्यपी यस क्षेत्रको माटो सुधारका कार्यक्रमहरु भने ल्याउने प्रतिवद्धता जनाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !