
-
नमोबुद्ध संवाददाता
धुलिखेल–भनिन्छ,पत्रकारिता हतारको साहित्य हो र उद्घोषण बोल्ने कला हो । तेमाले ठिटो सुदिन दोङ यिनै हतारको कर्ममा रम्न थालेको एक दशक हुनै लागेछ ।
सञ्चार कर्मको क्रममा मान्छेका अनेक जिन्दगीहरुसँग साक्षात्कार हुन थाल्यो,त्यसैले भक्तपुरको रेडियो जनसञ्चारबाट सञ्चालन गर्दै आएको रेडियो कार्यक्रम ‘छोर्वाला काअी’ लाई माध्यम बनाएर सामाजिक अभियानमा होमिनुभयो,फलस्वरुप मृगौला,मुटु रोग र क्यान्सर पिडित आधा दर्जन नेपालीले नयाँ जीवन प्राप्त गरे ।
यसरी जीवनमा दुख पिडालाई नजिकबाट नियाल्नुभएका दोङले आफूलाई दुःख र वियोगको मात्रै साक्षी राख्न चाहनुभएन ।
यसै क्रममा दोङले मनको खुसी बाँड्न ल्याउनुभयो सांगीतिक कोसेली ‘ङाला लिला गुङरी च्यागो ह्याङ्ला मायाला म्हाङ स्याब्ला’(मेरो अनुहारबिच हेर तिमी हाम्रो मायाको सपना भेट्टाउँछौ) । हतारकर्मको क्रममानै फुरेको हो उहाँलाई यो गीत ।
यसअघि तामाङ संस्कृति तथा ल्होछार र राजनीतिक जागरणका गीत कम्पोज गरी स्वर समेत पस्किसक्नुभएका काभ्रे तेमाल मेच्छेका दोङको यो मानव जीवनको एक महत्वपूर्ण पाटो माया र प्रेमबारेको आधुनिक तामाङ गीत हो ।
‘छोर्वाला काअी’ को प्रस्तुती दोङको पछिल्लो यो गीत युवा पुस्ता माझ निकै लोकप्रीय बन्दै गएको छ । उहाँले यसमा नयाँ युवा प्रतिभालाईनै स्थान दिनुभएको छ,त्यसैले यो गीतमा संगीत र स्वर दिएर आफ्नो दरिलो क्षमता प्रस्तुत गर्ने अवसर प्राप्त भयो विहिन दोङलाई ।
सानैदेखि गीत संगीत भनेपछि हुरुक्कै हुने विहिनको यो गायकीमा साथ मिलेको छ अहिलेका चर्चित गायिका जीतु लोप्चनको ।
निकै सुमधुर यो गीतलाई कोरियोग्राफर अजय स्याङतानले सुन्दर भिडियोको रुप दिनुभएको हो ।
हाईलाईट्स नेपालको च्यानलमार्फच रिलिज भएको केहि हप्तामै यो गीत लाखौं दर्शकले हेरिसकेका छन् ।
अचेल यो गीत सामाजिक सञ्जाल,सञ्चार माध्यमदेखी दर्शक स्रोताको मोबाईल हुदै दर्शक स्रोताको मनमनमा छाउन थालेको हो । यसबिचमा सामाजिक सञ्जालमार्फत विजय तामाङले यस्तो प्रतिक्रिया व्यक्त गर्नुभएको छ –
“गीत र म्युजिक भिडियो दुबै पाटोमा खोट लाउने कुनै ठाउँ छैन,गीतको हरेका शब्द भाव खुल्ने पर्फेक्ट लाग्यो,यस्तै खुसी र माया प्रेमका गीतहरु फेरि फेरि सुन्न र हेर्न पाउँ ।”
त्यस्तै मिठु तामाङले पनि प्रशंसा गर्नुभयो । उहाँको प्रतिक्रिया छ–“शब्द र संगीतको निकै मेल पाईयोे,त्यसैले निकै मिठो सुनियो,धन्यबाद सम्पूर्ण टिमलाई जसले गीत संगीतमार्फत तामाङ भाषा,साहित्य र संस्कृति संरक्षणमा सहयोग गरिदिनुभएको छ ।”
यो सांगीतक कोसेली सार्वजनिक भएको केहि हप्तामै तेमाले ठिटो द्धय सुदिन र विहिनले दर्शकस्रोताको मन जित्न सफल भएको हो ।
गीतलाई थप खुल्न म्युजिक भिडियोको महत्वपूर्ण भुमिका देखिन्छ । जसलाई निर्देशन गर्नुभएको हो कोरियोग्राफर अजय स्याङ्तानले ।
पोखरा लगायतका विभिन्न स्थानका प्राकृतिक छटाहरुमाझ एक प्रेमिल जोडीको प्रेमलाप भिडियोमा देख्न सकिन्छ ।
भिडियोमा अहिलेका चल्तीका मोडल निराञ्जली लामा र उदाउँदो प्रतिभा हेमन्त लामालाई प्रस्तुत गरिएको छ ।
भिडियो :