• नमोबुद्ध संवाददाता

काठमाडौं–तामाङ सेलो गीत सङ्गीत तथा मौलिक खानाको दायरा फराकिलो बनाउने उद्देश्यका साथ राजधानीमा ‘तामाङ सेलो सङ्गीत तथा तामाङ खाना महोत्सव’को घोषणा गरिएको छ ।

यहि मङ्सिर २७ र २८ गते दुई दिन चुच्चेपाटिको हायत होटल सम्मुखको प्राङ्गण तामाङ समुदायमा प्रचलित मौलिक गीतसङ्गीतका साथै तामाङ परिकारमय हुने आयोजक नेपाल तामाङ कलाकार संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाद्धारा उद्घाटन गर्ने तय गरिएको महोत्सवले तामाङ संस्कृति प्रवद्र्धनमा महत्वपूर्ण सन्देश दिने संघका अध्यक्ष सञ्जिव वाईबाले बताउनुभयो ।

पत्रकारमाझ उहाँले भन्नुभयो–“हामीभित्र पनि थुप्रै सांस्कृतिक विविधता छन्,तिनको भाव सेलो सङ्गीत पनि ले पकड्नुपर्छ भन्ने लाग्छ,पूर्विय क्षेत्रका तामाङहरुमाझ प्रचलित सङ्गीत,पश्चिमतिरको म्हेन्दोमाया भाका,उत्तरतीरको खन्दोके सेलो,हाम्रा पुराना जीजशैलीसँगै अघि बढेको फापरे ह्वाअी,यिनका आ–आफ्नै विशेषता छन् , महोत्सवमा यि सबैको प्रतिनिधित्व हुनेगरी हामीले स्थान दिनेछौं ।”

उहाँका अनुसार महोत्सवमा ख्यातिप्राप्त कलाकारकारहरुको प्रस्तुतीका साथै तामाङ खाना,भेषभुषाका स्टलहरु समेत रहनेछन् ।
अहिलेसम्म संस्थागत रुपमा तामाङको मौलिक खाना महोत्सव पनि नभईरहेको अवस्थामा तामाङ मौलिक खानाको चिनारीका साथै सेलो गीत सङ्गीतलाई व्यापकता दिने ध्येयले ‘तामाङ सेलो सङ्गीत तथा तामाङ खाना महोत्सव’ ऐतिहासीक हुने अध्यक्ष वाईबाको दावी छ ।

उहाँले देश तथा विदेशबाट स्टल राख्न चाहने कोही छन् भने संघका बरिष्ठ उपाध्यक्ष विश्व दोङलाई सम्पर्क गर्न अनुरोध गर्नुभयो ।

प्राविधिक व्यवस्थापनमा मञ्जुश्री साउण्ड सर्भिसबिच सहयोगको सम्झौता भएपनि अन्य भौतिक तथा आर्थिक सहयोग जुटाउने क्रममानै रहेको जानकारी दिनुहुदै उहाँले गच्छेअनुसार सहयोगको अपिल गर्नुभयो ।

संघका महासचिव विशाल काल्तानले यो महोत्सव कुनै व्यक्तिगत स्वार्थभन्दा बाहिर रहेको जनाउँदै यसलाई सफल बनाउन सम्पूर्ण तामाङ समुदाय जुट्नुपर्ने बताउनुभयो ।

महोत्सवको औचित्य पुष्ट्याईं गर्न आयोजक तामाङ कलाकार संघका अध्यक्ष वाईबाबाट आवधारणापत्र समेत सार्वजनिक गरिएको पत्रकार सम्मेलनमा सहभागि तामाङ गीत संङ्गीतका दिग्गज व्यक्तित्वहरुले सफलताको शुभकामना व्यक्त गरे ।

यसैक्रममा बरिष्ठ सङ्गीतकार एवम् गायक चन्द्रकुमार दोङले तामाङ सेलोलाई विश्वमा स्थापित गराउने गोपाल योञ्जनको सपना साकार हुने संकेत मिलेको बताउनुभयो ।

उहाँले भन्नुभयो–“आज म निकै हार्षित छु,हामी सबैको अग्रणी व्यक्तित्व स्व.गोपाल योञ्जनले जुन सपना देख्नुभएको थियो आज हामी यहि बाटोमा हिड्न थालेको आभाष भएको छ,यो हामी सबैको सपना हो,हाम्रो सङ्गीतलाई विश्वबजारमा पुर्याउने धोको अहिलेको कलाकार संघको नेतृत्वले पुरा गर्दैछ,यसमा म निकै गर्व गर्छु ।”

२०४६ सालको राजनीतिक परिवर्तनपछि बामे सर्दै अघि बढेको तामाङ गीत सङ्गीतले फड्को मार्नु निकै खुसीको कुरा रहेको उहाँको भनाई छ ।

गायक तथा संगीतकार रोज मोक्तानले पनि कलाकार संघको कदमको प्रशंसा गर्दै सदैव साथमा रहने प्रतिवद्धता जनाउनुभयो ।

नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङले तामाङ समुदायमा अर्को सांस्कृतिक जागरणको अध्याय सुरु हुने विश्वास व्यक्त गर्नुभयो ।

तामाङ समुदायभित्रको विविधताको प्रतिनिधित्व हुनेगरी संघले गर्न लागेको कार्यक्रममा साथ रहने उहाँको भनाई छ ।

महोत्सवको पहिलो दिन मङ्सिर २७ गते दिउँसो १ बजे देखी ३ घण्टा औपचारिक कार्यक्रम गर्ने,त्यसपछि अनौपचारिक कार्यक्रमहरुमा केन्द्रित हुने आयोजकको तयारी छ ।

महोत्सव देशविदेशका तामाङ तथा जनजाती समुदाय समेतको वृहत जम्काभेट,छलफल,विचारविमर्श,रमरमाईलोको अर्थपूर्ण थलो बन्ने विश्वास पनि गरिएको छ ।

महोत्सव स्टलका लागि सम्पर्क : नेपाल तामाङ कलाकार संघ,बरिस्ठ उपाध्यक्ष विश्व दोङ ९८५१०५८२०७  

भिडियोसहित :

प्रतिक्रिया दिनुहोस !