• नमोबुद्ध संवाददाता

धुलिखेल–काभ्रेको सदरमुकाम अवस्थित काठमाडौं विश्वविद्यालय(केयु)ले शुक्रबार हुने २५ औं दीक्षान्त समारोहको भव्य तयारी गरेको छ । कुलपति,सहकुलपति,प्रमुख अतिथि,अतिथि,अभिभावकहरुलाई निमन्त्रणा लगायत अन्य व्यवस्थापकिय तयारी सकिएको केयु उपकुलपति डाक्टर रामकण्ठ माकजूले जानकारी दिनुभयो ।

दीक्षान्त समारोहबारे विहीबार आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो–“यो पटक हामीले अझ व्यवस्थित र भव्य ढंगले कार्यक्रम गर्ने सोच बनाएका छौं ।”

यो पटक पूर्वको आदिवासी सन्थाल जातिको पहिचान र ललितपुर लेलेका रैथाने नेवारको धिमेबाजा प्रस्तुती समेत रहने उहाँले बताउनुभयो ।

शैक्षिक चेतनाको विकासमा नेपाली संगीत, आदिम सांस्कृतिक जीवन र आजको परिवर्तनलाई जोड्न चाहेको उहाँको आसय थियो ।
यद्यपी केयुका औपचारिक र अनौपचारिक कार्यक्रमहरुमा यहाँका रैथाने नेवार र तामाङ जातिको सांस्कृतिक जीवन(अग्र्यानिक स्वास्थ्य)लाई उचित स्थान नदिएको गुनासो नभएको हैन ।

यस सन्दर्भमा दीक्षान्त समारोहमा यो पटकको प्रयास आफैंमा अर्थपूर्ण छ,जसलाई देश विदेशका पाहुनाहरुले नियाल्नेछन् । उपकुलपति माकजूका अनुसार यिनै सांस्कृतिक बाजागाजासहित अतिथिहरुको स्वागत सत्कार गरिने छ ।

दीक्षान्त कार्यक्रमको अध्यक्षता गर्न प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओली विहान १०ः३० बजे धुलिखेल चौकोट आउनुहुनेछ भने प्रमुख अतिथिका रुपमा भारतको जयपुरस्थित मणिपाल विश्वविद्यालका अध्यक्ष डाक्टर के.रामनारायणले दीक्षान्त भाषण दिनुहुनेछ ।

दक्ष जनशक्ति उत्पादनमा अग्रणी यस विश्वविद्यालयले यो पटक पहिलो चरणमा स्कुल अफ मेडिकल साइन्सेजबाट उत्पादित चिकित्सा विधाका विद्यार्थीहरुलाई औपचारिक समारोहकाविच दीक्षित गराउन लागेको हो ।

पहिलो चरणमा मेडिकल क्षेत्रका स्नातक र स्नातकोत्तर तहका १ हजार ६ सय ४ नाले उपाधि लिनेछन् ।

यसमा एमसीएच,डिएम,एमडी,एमएस,एमएस्सी र एमडीएसका १४८ जना,एमबीबीएसका १ हजार ९८ जना,बीडीएसका २१८ जना,बीएस्सी इन नर्सिङका ११६ जना र बीपीटीका २४ जना रहने छन् ।

कार्यक्रममा मेडिकल विधाको माथिल्लो तहको एमसीएच उपाधि ४ जनालाई प्रदान गरिदैछ । तीमध्ये यस विश्वविद्यालयको इतिहासमै पहिलोपटक एक जनालाई प्लाष्टिक एन्ड रिकन्स्ट्रक्टिभ सर्जरी विषयमा एमसीएच उपाधि प्रदान गरिन लागेको पत्रकार सम्मेलनमा जारी प्रेस वक्तव्यमा उल्लेख छ ।

दीक्षित हुनेहरुमा भारत,भुटान,श्रीलंका,मालभिस,अमेरिका र बेल्जियम गरी ६ देशका २४६ जना विद्यार्थी चाँहि विदेशी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस !