• नमोबुद्ध संवाददाता

काठमाडौं–नेपालमा शिक्षाको जग बसाउन उल्लेखनीय भूमिका खेल्ने आबाल ब्रह्मचारी षडानन्दको सम्झना गर्दै उहाँले राष्ट्रका लागि दिनुभएको योगदानबारे हालै नेपाल प्रज्ञा–प्रतिष्ठानमा विचार गोष्ठी सम्पन्न भएको छ ।

प्रतिष्ठानका प्राज्ञ एवम् सञ्चार विभाग प्रमुख शशी लुमुम्बुका अनुसार प्रज्ञा–प्रतिष्ठान, संस्कृति विभाग र आबाल ब्रम्हचारी षडानन्द प्रतिष्ठानद्वारा आयोजित ‘राष्ट्रका लागि आबाल ब्रम्हचारी षडानन्दको योगदान’ विषयक विचार गोष्ठीमा सहभागि व्यक्तत्वहरुले उहाँको योगदानको सान्दर्भिकतबारे चर्चा गरे ।

कार्यक्रमका सभाध्यक्ष एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आबाल ब्रम्हचारी षडानन्दको योगदान र विचारलाई नेपाली समाजमा लागू गर्न सकेमा समाजले गति लिन सक्ने उल्लेख गर्नुभयो ।

पूर्वी पहाडी जिल्ला भोजपुरको दिङ्लामा वि.सं. १९३२ मा विद्यालय स्थापना गरेर षडानन्दले गरेको सत्कर्म र योगदानबारे प्रज्ञा–प्रतिष्ठानले अध्ययन–अनुसन्धान गरी ग्रन्थ प्रकाशन गर्ने गर्ने जानकारी उहाँले दिनुभयो ।

उपकुलपति डा. जगमान गुरुङले षडानन्दले बालेको ज्ञानको ज्योति निभेको हुनाले अब त्यो ज्योतिलाई पुनः बाल्नुपर्नेमा जोड दिनुभयो । उहाँले विज्ञानलाई पनि फेल गराउन सक्ने शक्ति अध्यात्म साधनामा हुने जिकिर गर्दै षडानन्द सौर्यशक्तिको उपासक रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश एकका सांसद राजेन्द्र राई, षडानन्द नगरपालिका, भोजपुरका नगरप्रमुख वीरबल राई, आबाल ब्रम्हचारी षडानन्द प्रतिष्ठानका अध्यक्ष प्रा. चेतोनाथ गौतम, सचिव प्रा. लालानाथ सुवेदी र षडानन्द–सीताराम गुठी दिङ्लाका अध्यक्ष कृष्णप्रसाद पौडेलले षडानन्द र उहाँले समाजलाई दिनुभएको योगदान र आ–आफू आबद्ध संस्थाले गरेका कार्यहरूका बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा प्रा.डा. गोविन्दमानसिंह कार्कीले ‘नेपालको सामाजिक तथा शैक्षिक इतिहासमा षडानन्दको योगदान’ र यादव चापागाईंले ‘जनसहयोगको परिचालन र संस्थागत व्यवस्थापनमा षडानन्दको योगदान’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रा.डा. कार्कीले धार्मिक तथा सांस्कृतिक क्रियाकलापमार्फत् समाजमा विद्यमान विकृति र विसंगति अन्त्यका लागि षडानन्दले गरेको पहलकदमीको उल्लेख गर्दै उहाँले गुरुकुल शिक्षाको थालनी गरेर मुलुकको शैक्षिक अवस्थालाई सुधार्न अहम् भूमिका खेलेको बताउनुभयो ।
उहाँले भन्नुभयो– “संस्कृत पाठशालाको स्थापना आबाल ब्रम्हचारीले गर्नुभएको थियो तर अहिलेको पुस्ताले त्यसको संरक्षण गर्न सकेको छैन ।”

निर्मला पोखरेलले सञ्चालन गर्नुभएको कार्यक्रममा अर्का कार्यपत्र प्रस्तोता चापागाईंले कार्यपत्रमा जनसहभागिता र जनसहयोग लिई षडानन्दले गरेका महत्वपूर्ण कार्यलाई जगेर्ना गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

आबाल ब्रह्मचारी गुरु षडानन्दले निर्माण तथा स्थापना गरेका मन्दिर, पुस्तकालय, विद्यालय, बगैँचा आदि कार्यहरू सुचारु रहून् र दीर्घ कालसम्म तिनको संरक्षण होस् भनेर एउटा बृहत् गुठीको पनि स्थापना गरेको पाइन्छ ।

गुठीका नाममा लाल मोहोर समेत गराएको देखिन्छ भने त्यसै समयमा लगभग १०००/१२०० मुरी अन्न उब्जनी हुने गुठीको व्यवस्था गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस !