• नमोबुद्ध संवाददाता

तामाङहरुको छाता संगठन नेपाल तामाङ घेदुङको भ्रातृ संगठन नेपाल तामाङ ताम्बा घेदुङ र नेपाल तामाङ बोन्बो घेदुङले एकसाथ नेतृत्व चयन गरेको छ ।

राजधानीको बौद्धमा शुक्रबार र शनिबार संयुक्त चलेको प्रथम राष्ट्रिय सम्मेलनले क्रमश २७ र २४ सदस्यीय कार्य समिति रहनेगरी नेतृत्व चयन गरेको हो ।

घेदुङको भातृ संगठनमा पुरानै अनुहार पासाङ मोक्तानले हालको ताम्बा घेदुङमा अध्यक्षको जिम्मेवारी लिनुभएको छ । २७ सदस्यीय ताम्बा घेदुङ कार्य समितिको महासचिवमा टेक घिसिङलाई चयन गरिएको छ ।

लाक्पा घ्याम्जो मोक्तान भने बोन्बो घेदुङको अध्यक्ष बन्नुभएको छ । २४ सदस्यीय बोन्बो घेदुङको महासचिवमा दिनेशकुमार मोक्तानले सर्वसम्मत जिम्मेवारी पाउनुभएको छ ।

सम्मेलनले दुवै घेदुङको कार्य समितिका सदस्यहरु आगामी बैठकले छनौट गर्ने म्यान्डेट दिएको छ ।

काठमाडौं आसपासका विभिन्न जिल्लाबाट सहभागि बोन्बो र ताम्बाहरुमाझ सम्मेलनको प्रदेश ३ का उपसभामुख राधिका तामाङले उद्घाटन गर्नुभएको थियो ।

सम्मेलनलाई सम्बोधन गर्दै उपसभामुख तामाङले तामाङ समुदायको उत्थान तथा संस्कृति प्रवद्र्धनमा ताम्बा र बोन्बोहरुको मुख्य भुमिका रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !