• नमोबुद्ध संवाददाता :

तेमाल–गुरु ह्रेम्पोछे(पद्यसम्भव)को तपोभूमि तेमाल टेक्न दक्षिण एसिया सहित थुप्रै मुलुकका भिक्षुभिक्षुणीदेखी सर्वसाधारणसम्म आउँछन्,एक प्रकारले शान्ति अनुभुत गर्छन्,गुरु ह्रेम्पोछेको आशिर्वादको कामना गर्दछन् ।

आईतबार गापा केन्द्र नारायणस्थानमा बालदिवस मनाउन भेला भएका बालबालिकालाई यो कुरा स्मरण गराउदै गापा अध्यक्ष सलाम सिं तामाङ हौसला दिदै हुनुहुन्थ्यो ।

दिवसको अवसरमा गाउँपालिका स्तरमा एसईई २०७५ तथा कक्षा ८ को वार्षिक परीक्षमा उत्कृष्ठ नतिजा हासील गरेका छात्रछात्राहरुलाई सम्मान तथा पुरस्कृत गर्दै उहाँले भन्नुभयो–“गुरु ह्रेम्पोछेको यो पवित्र भुमिमा जन्मिन पाउनु पहिलो अहोभाग्य हो,यसले हामीलाई मिहेनत गर्न उर्जा मिलेको छ,विद्यार्थी भाईबहिनीहरुमा गुरु ह्रेम्पोछेको आशिर्वाद लागोस्”

कर्म अघिको सकारात्मक साधना र चिन्तनले मात्रै सहि प्रतिफल दिने बताउँदै उहाँले तेमाललाई चिनाउन असल विद्यार्थीको महत्वपूर्ण भुमिका हुने धारणा राख्नुभयो । पछि पछुताउनु भन्दा अघिनै चिन्तन गरे सफल हुने उहाँको तात्पर्य थियो ।

पढाई लेखाई जस्ता हरेक सत्कर्ममा आत्मविश्वासका साथ लाग्न आग्रह गर्दै उहाँले भन्नुभयो –“विद्यार्थी,शिक्षक,विद्यालय र अभिभावक समेतलाई हामीले सम्मान गरेका छौं,राम्रोकै लागि गरेपछि नडराईकन निर्धक्क शीर ठाडो बनाउन जरुरी छ, बालबालिकाहरु अझै खुल्नुपर्यो,पुरस्कर पाएपछि पो बलियोसँग बाँध्ने हो, साँध्ने होनी, बोल्दा त हात माथि गर्नुपर्यो,त्यसबाट पनि समर्पणभाव ससम्मान झल्किन्छ ।”

गापा अध्यक्ष तामाङले बालबालिकाको भविष्यप्रतिको लगानी अझ बढाउन जरुरी रहेको बताउनुभयो ।

स्वदेशमै रोजगारी पाउने शिक्षामा लगानी गर्ने गरी पालिकाले गत वर्षभन्दा यो वर्ष बढि बजेट छुट्टाउँदै आकर्षक योजना बनाएको जानकारी दिदै उहाँले आजको युग सुहाउँदो पठनपाठन आवश्यक रहेको बताउनुभयो ।

सक्षम,दक्ष तथा भविष्यको कर्णधार बन्न सर्वप्रथम बाल बालअधिकारको विषय कार्यन्वयनमा जानुपर्ने उहाँको तर्क छ ।

यसमा सबै तहतप्का संवेदशील हुन जरुरी रहेको उल्लेख गर्दै उहाँले आफ्ना गाउँपालिकाभित्रका सबै बालबालिकाहरुले बालअधिकारको प्रत्याभुति पाउने खालका कार्यक्रमहरु अघि बढाएको जानकारी दिनुभयो ।

उहाँले कुनै पनि बालबालिकाले शिक्षा पाउनु नैसर्गिक अधिकार भएकोमा जोड दिनुभयो ।

को को भए पुरस्कृत,कुन विद्यालय उत्कृष्ठ ?

तेमाल गाउँपालिका स्तरमा २०७५ सालको एसईई परिक्षामा वडा नंम्बर ९ मा रहेको कुशेश्वर माविका ज्ञानबहादुर रायमाझीले ३.४५ जीपीए ल्याई प्रथम बन्नुभएकोमा उहाँ पुरस्कृत तथा सम्मानित हुनुभएको हो ।

दोस्रोमा पनि कुशेश्वर माविकै रंगिना लामाको नतिजा छ । साथै जनज्योति माविका सुनिता थपलियालाई पनि पुरस्कृत गरिएको छ ।

तेस्रो भएका भूमे माविका सज्जन तामाङ, सर्वोद्धर माविका सुरज तामाङ, नारायणस्थान माविका अञ्जली तामाङ,चौथो भएका सस्र्यूंखर्कस्थित जनचेतना माविका निश्चल तामाङ, राधाकृष्ण माविका रामशरण मैनाली पुरस्कृत तथा सम्मानित भएका छन् ।

पाँचौंमा जनज्योति माविका सुशिला लामा र जनचेतना माविका संगम तामाङ र छैठौं भएका जनज्योति माविका रमेश मैनाली र नारायणस्थान माविका सृजना श्रेष्ठ पनि गाउँपालिकाद्धारा सम्मानित भए ।

उत्कृष्ठ विद्यालय २०७५ मा कुशेश्वर मावि रहेको छ । यस विद्यालयबाट एसईई परीक्षा दिएका छात्रछात्रा तेमालकै पहिलो र दोस्रो भएका थिए ।

प्रतिक्रिया दिनुहोस !