नमोबुद्ध संवाददाता :काठमाडौं–तामाङ कलाकारहरुको छाता संगठन नेपाल तामाङ कलाकार संघको छैठौं अधिवेशनले सर्वसम्मत रुपमा आगामी दुई वर्षको लागि कार्यसमिति चयन गरेको छ ।
प्रतिनिधिसभा सदस्य नविना लामाको प्रमुख आतिथ्यतामा शनिबार राजधानीमा सम्पन्न अधिवेशनले अध्यक्षमा पुनः सञ्जीव वाईबालाई जिम्मेवारी दिएको छ ।
कार्यसमितिका उपाध्यक्षमा विश्व दोङ,शसिकला मोक्तान,महासचिवमा विशाल काल्तान,सचिवमा रोशन फ्युबा र कोषाध्यक्षमा सुवास मोक्तान चयन हुनुभएको छ ।
सदस्यहरुमा चाँदनी मोक्तान,फूलकुमार बम्जन,निर्मला घिसिङ,बुद्ध लामा,कुमार तामाङ,कुमार स्याङबो,जीतु लोप्चन,मिङ्स लामा,प्रयास दोङ,वैरागी मोक्तान,योगेश लामा छन् ।
साथै कार्य समिति सदस्य सरहको मर्यादाक्रम तथा हैसियत रहने गरी जोगलाल लामा,आस्मान लोप्चन,खेम मोक्तान र विजय थोकरलाई विभागिय सदस्यका रुपमा मनोनित गर्ने निर्णय समेत भएको छ ।
अधिवेशनमा १५० पुराना र ५० नयाँ सदस्य गरी २०० कलाकारहरुले सहभागिता जनाए ।
नव निर्वाचित अध्यक्ष वाईबाले आफूले कलाकार एकतामा जोड दिने बताउनुभयो । संघमा संस्थापक सचिव दिपेन्द्र दोङले भने जस्तै गीत संगीतका साथै,चलचित्र र आर्टका कलाकार समेत अट्न सकिने उल्लेख गर्नुभयो ।
तामाङ जागरण अभियान अन्तरगतका कार्यक्रमहरु सफल भएको दावी गर्दै उहाँले कलाकारको पेशागत अधिकार प्राप्तिका लागि नीतिगत संघर्षका साथै समुदायसँग सरोकार राख्ने विषय केन्द्रित सवालमा अडिक भएर लाग्ने जानकारी दिनुभयो ।
यसैक्रममा आगामी मङ्सिरमा सेलो महोत्सव गर्ने योजना सार्वजनिक गर्नुभयो । जनवादी गीतसंगीतसँगै तामाङ तथा सेलोमा स्थापित वाईबा दुई वर्ष अघि भक्तपुरमा सम्पन्न पाँचौ अधिवेशनबाट पनि अध्यक्ष चुनिनुभएको थियो ।
यो पटक उहाँ सहित सर्वसम्मत टिमलाई आधुनिक प्रविधिको विकाससँगै तामाङ गीतसंगीत तथा कलालाई अझै फराकिलो ढंगले स्थापित गराउँदै लैजानुपर्ने अभिभारा रहेको तामाङ बुद्धिजीवि तथा कलाप्रेमीहरुको भनाई छ ।
उद्घाटन सत्रमा सांसद नविना लामा,अन्तरािष्ट्रय तामाङ परिषद्का उपाध्यक्ष टासी लामा,संघका संस्थापक सचिव दिपेन्द्र दोङ,सल्लाहकार प्रदिप बम्जन,तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकर लगायतले मनोरञ्जन मात्र नभई समुदायको आवाज बुलन्द गर्ने कलाकार संघको उदेश्य प्राप्तिको शुभकामना व्यक्त गर्नुभएको थियो ।