
- नमोबुद्ध संवाददाता
काठमाडौं–रिलिजको तयारीमा रहेको तामाङ चलचित्र ‘म्युङ पुजु’(तिखो काँडा)को ‘जब माया बुजी’ गीत शुक्रबार राजधानीमा एक औपचारिक समारोहका बिच सार्वजनिक गरिएको छ ।
पत्रकार,कलाकार सहभागि समारोहमा प्रदर्शन गरे लगत्तै यो गीत डम्फू मिडियाको युट्युव च्यानलमार्फत पनि सार्वजनिक गरिएको सञ्चार संयोजक प्रीतमकुमार तामाङले जानकारी दिनुभयो ।
यो गीतको रचनाकार तथा संगीतकार विशाल काल्तान हुनुहुन्छ भने आवाज स्वयम् काल्तानका साथै जितु लोप्चनको रहेको छ ।
नृत्य निर्देशनकलाबाट उदाएका अजय स्याङ्तानको निर्देशनमा तयार हुदै गरेको चलचित्र‘म्युङ पुजु’को ‘जब माया बुजी’ बोलको गीतमा विक्रम मोक्तानको क्यामेरामार्फत स्याङतानले नव नायक ईश्वर लामा र नायिका सुस्मा मोक्तानलाई फिचरांकन गराउनुभएको छ ।
यो गीत र भिडियो तामाङ चलचित्र क्षेत्रमा आधुनिक गीततर्फ निकै राम्रो बनेको सार्वजनिक समारोहमा सहभागिहरुले बताए ।
कार्यक्रमका प्रमुख अतिथि तामाङ चलचित्र संघका अध्यक्ष थोकर र महासचिव जयनकुमार मोक्तानले यो गीतको प्रशंसा गर्नुभयो ।
यस सन्दर्भमा अध्यक्ष थोकरले यस्ता गीत संगीत,कलाकार जगतको उत्थानमा क्रियाशिल सबै एक हुन आह्वान गर्नुभयो ।
विशेष अतिथि चलचित्र निर्माणको व्यानर डम्फू मिडियाका सञ्चालक तथा चर्चित नायक⁄निर्देशक अमिर दोङले तामाङ कला जगतमा खुट्टा तान्ने प्रवृत्तिको अन्त्य नभएसम्म चलचित्र क्षेत्र उभि नलाग्ने भन्दै राम्रो कामलाई सम्मानको स्थिती बन्नुपर्ने धारणा राख्नुभयो ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष जंग तामाङ र बलेफी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कालीप्रसाद गोलेले आफ्ना स्थानिय क्षेत्रलाई अन्तराष्ट्रिय क्षेत्रसम्म चिनाउनेगरी स्थान दिएकोमा चलचित्र निर्माण युनिटलाई धन्यबाद व्यक्त गर्नुभयो ।
वडाध्यक्ष द्धयले स्थानिय प्रकृतिक छटा,कला संस्कृतिको प्रवद्र्धनमा लागि परेका स्थानिय युवाहरुको कदमको प्रशंसा गर्दै स्थानिय सरकारबाट सहयोग गर्ने वचन दिनुभयो । उहाँहरुले तत्काल व्यक्तिगत रुपमा क्रमश १५ हजार र २० हजार रुपैयाँ आर्थिक सहयोग रहने बताउनुभयो ।
तामाङ कलाकार संघका सचिव समेत रहेका यस गीतका रचनाकार,संगीतकार एवम् गायक काल्तानले यो आफ्नो ३२ औं चलचित्रमा काम गर्ने अवसर रहेको जानकारी दिनुहुदै यसमा टिमवर्क राम्रो भएकोले उत्कृष्ठ नतिजा देखिएको दावी गर्नुभयो ।
चलचित्रमा सुजन लामाको कथा तथा ऋतुराज पाख्रिनको पटकथालाई जोड्न यो गीत निकै शसक्त रहेको निर्माण पक्षको दावी छ ।
मान्छे–मान्छेबिचको कटुता,वैमनश्यताको प्रतिक(तिखो काँडा) को उपचार अन्ततगत्व प्रेम नै रहेको सन्देश यो चलचित्रले दिने निर्मात्री कान्छीमाया गोलेको भनाई छ । यसले तामाङ एकता,सांस्कृतिक जागरण,भाषाको संरक्षणमा भुमिका खेल्ने उहाँको विश्वास छ ।
चलचित्रको मुख्य चरित्रमा नायक इश्वर लामा,प्रेम गोले,नायिका सुस्मा मोक्तान,डोल्मा तामाङ,खलनायक वीबहादुर तामाङ(विजय),भुईसाल लामा,राजकुमार स्याङतान,वीरमान स्याङतान लगायतलाई देख्न सकिने सञ्चार संयोजक गोलेले जनाउनुभयो ।
भिडियोसहित :
https://www.youtube.com/watch?v=Pvh0eVtCZjc