
- नमोबुद्ध संवाददाता :
धुलिखेल–प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले आफू राज्यले दिएको जिम्मेवारी पुरा गर्न कटिबद्ध रहेको बताउनुभएको छ । काम गर्ने मान्छे मर्यादामा अल्झिएर बस्नु राम्रो नहुने उहाँको भनाई छ । हालै काभ्रेपलाञ्चोक जिल्लामा प्रजिअको रुपमा आफ्नो जिम्मेवारी ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
मर्यादामा अल्झिएका कारण जिल्लामा जिल्लास्तरिय विपद् व्यवस्थापन समितिको बैठक बस्न नसकेको र यसले गर्दा राहत तथा उद्धार कार्य सहज,चुस्त,दुरुस्त हुन नसकेको प्रसंगमा उहाँको यस्तो धारणा आएको हो ।
यसअघि जिल्ला स्तरिय विपद् व्यवस्थापन समितिको अध्यक्ष प्रमुख जिल्ला अधिकारी भएको हैसियतले जिल्लाका सबै तह–तप्कालाई एकै ठाउँमा ल्याएर छलफल गरी निर्णयहरु गरिन्थे तर अहिले सरकारले निर्धारण गरेको मर्यादाक्रममा प्रजिअ भन्दा माथि स्थानिय सरकार प्रमुखहरु हुने भएपछि यो स्थिति देखिएन यसमा अब के होला ? भन्ने पत्रकारहरुको जिज्ञासामा उहाँले भन्नुभयो–“म मर्यादामा विश्वास गर्दिन,जिम्मेवारी वहन गर्ने हो,म आफू बढि भाउ खोजेर जनसेवामा ढिलाई गराउँदिन,स्थानिय स्तरमा पनि विपद् व्यवस्थापनका काम गर्ने समितिहरु हुन्छन्,जिल्लास्तरमा पनि मिलेरै काम गर्ने त हो,म शान्ति सुरक्षा कायम गराउने,कालाबजारी अन्त्यदेखी विकास निर्माणसम्म समन्वयकारी भुमिकामा रहनेछु ।”
मर्यादाक्रमकै कारण विपद् व्यवस्थापन,सुशासन,शान्ति सुरक्षा तथा सेवा प्रवाहमा ढिलासुस्ती गराउन नहुने स्पष्ट पार्दै प्रजिअ तिमिल्सिनाले आफू यसमा छलफलको वातावरण बनाउन प्रतिवद्ध रहेको बताउनुभयो ।
जनतालाई सेवा दिने विषयलाई विभिन्न वहानामा टार्न नसकिने उहाँको तर्क छ । उहाँले भन्नुभयो–“म यहाँका नागरिक,सेना,प्रहरी प्रशासन,जनप्रतिनिधि सबैसँग मिलेर काम गर्न चाहन्छु ।”
एक वर्षभन्दा बढि समय ईलाम जिल्ला प्रशासनमा कुशल कार्यसम्पादन गर्दै काभ्रे जिल्ला प्रशासन सम्हाल्न आउनुभएका तिमिल्सिनाले काभ्रे जिल्ला प्रशासनको आफ्नै भवन नहुनु आश्चार्यको विषय रहेको बताउनुभयो ।
उहाँले ठेकेदारको लापार्वाही र अदालतमा मुद्धा परेका कारण वर्षौदेखी अलपत्र परेको भवन निर्माण कार्य पुरा गराउन सहजिकरण गर्ने जानकारी दिनुभयो ।
उहाँको प्रतिवद्धता छ–“अदालतमा मुद्धा परेको रहेछ,यसबारे छलफलका लागि हामीलाई पनि बोलाएको छ, यो मुद्धा सल्टाउन म लाग्नेछु,भवन बनाउनैपर्छ, जनसेवा प्रवाहमा यसको महत्वपूर्ण भुमिका हुन्छ ।”