नमोबुद्ध संवाददाता :

काठमाण्डौं–सरकारले मङ्गलबार योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको सुरुवात गरेको छ । राजधानीमा एक औपचारिक समारोहका बिच प्रधानमन्त्री केपी शर्मा ओलीले यसको घोषणा गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा योजनाबाट जन्मेदेखि बाँचुन्जेलसम्मका लागि नागरिकलाई फाइदा पुग्ने बताउनुभयो । यसको परिकल्पना गर्दा धेरैले आफूहरूलाई उडाउने गरे पनि आज सार्थक भएको उहाँको भनाई छ । उहाँले २५ वर्षअघि थालेको काम सुरुवात भएकोले यसबाट युग बदलिएको दाबी गर्नुभयो । उहाँले बिरामी, आम्दानी भएका र नभएका सबैका लागि यो सामाजिक सुरक्षा कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आफूहरूले ज्येष्ठ नागरीकलाई भत्ता दिँदा ढुकुटी रित्याएको आरोप समेत खेप्नुपरेको बताउनुभयो । सामाजिक सुरक्षाको योजनाले श्रम गर्ने सबैलाई समेट्नेमा जोड दिँदै प्रधानमन्त्रीले आम्दानी अपुग हुँदा थप आम्दानी र आम्दानी नै नहुनेले सहायक आम्दानीको रूपमा यसलाई प्रयोग गर्न पाउने धारणा राख्नुभयो । श्रमजीविको उच्च ज्याला लिने चाहना र श्रमदातादाताको उच्च उत्पादन गर्ने चाहनाले अव पूर्णता पाउने उहाँको टिप्पणी छ ।

उहाँले भन्नुभयो–“योगदानमा आधारित सामाजिक सुरक्षा कोष शुभारम्भ भयो,सरकार कहाँ छ भनेर प्रश्न गर्नेलाई यो गतिलो जवाफ होे ।” केही दिनअघि मात्र नेपाली काँग्रेसले सरकार कहाँ छ भन्दै पत्रकार सम्मेलनमार्फत प्रश्न गरेको थियो । प्रधानमन्त्री ओलीले जनता निराश हुनुपर्ने कुनै कारण नभएको बताउँदै सरकार जनताले देखाएको बाटोमा हिड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले आफ्नो नीति र कार्यक्रम अनुसार काम गरिरहेको दावी पनि गर्नुभयो । मेलम्ची खानेपानी आयोजना पनि किन पूरा भएन भन्ने आलोचना आफूले सुनेको भन्दै प्रधानमन्त्री ओलीले आफ्नो सरकार गठन भएपछि दिनरात गरेर काम भइरहेको दावी गर्नुभयो ।

श्रम मन्त्री विष्टका अनुसार केछन् त सुरक्षा योजनामा ?

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु भएपछि रोजगारदाता र श्रमिकको असुरक्षित यात्रा समाप्त भएको बताउनुहुन्छ ।

मन्त्री विष्टको विश्वास छ–“अबदेखि श्रमिकमा काममा प्रतिबद्धता आउनुका साथै उत्पादन बढ्ने छ ।”

नेपालमा श्रमको सम्मान गर्दै थप रोजगारीको अवसर बढ्ने भन्दै उहाँले नेपाली श्रम र सीपलाई बढाउदै लैजान योजना सहयोगी बन्ने विश्वास गर्नुभएको हो ।

उहाँका अनुसार सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले चार प्रकारका सामाजिक सुरक्षा सुविधा प्राप्त गर्नेछन् । श्रमीकले कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाअनुसारको सामाजिक सुरक्षा प्राप्त गर्नेछन् ।

औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताले चिकित्सकको परामर्श सेवा, अस्पताल भर्ना तथा शल्यक्रियाको शुल्क, रोगको परीक्षण तथा उपचार खर्च, औषधिको बिल बमोजिमको खर्च प्राप्त गर्ने जानकारी मन्त्री विष्टले दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !