• नमोबुद्ध संवाददाता

काठमाडौं । नेपाली कविताका विविध पक्ष समेटेर नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘प्रज्ञा समकालीन नेपाली कविताविमर्श’ नामक समालोचनात्मक कृति प्रकाशन गरेको छ । प्रज्ञा–प्रतिष्ठानको साहित्य (पद्य) विभागले निकालेको यस समालोचनात्मक ग्रन्थको सम्पादन प्राज्ञ डा. अमर गिरी, सहप्रा. हेमनाथ पौडेल र डा. लक्ष्मणप्रसाद गौतमले गरेका छन् ।

५७२ पृष्ठको उक्त कृतिमा डा. अभि सुवेदीको ‘समकालीन नेपाली कवितामा जनजातीय चेतना’, डा. ताराकान्त पाण्डेयको, ‘समकालीन नेपाली कविताको वैचारिक अन्तर्वस्तु’, डा. अमर गिरीको ‘समकालीन नेपाली कवितामा भूमण्डलीकरण’, डा. गोविन्दराज भट्टराईको ‘समकालीन नेपाली कवितामा उत्तरआधुनिकता’, डा. लक्ष्मणप्रसाद गौतमको ‘समकालीन नेपाली कवितामा अन्तर्विषयक पठन’, डा. कुमारप्रसाद कोइरालाको ‘समकालीन नेपाली कवितामा राजनीतिक चेतना’ शीर्षकका आलेख समाविष्ट छन् ।

यसै गरी डा. नेत्र एटमको ‘समकालीन नेपाली कवितामा वैचारिक शिल्पविधान’, गीता त्रिपाठीको ‘समकालीन नेपाली कवितामा पर्यावरण’, ज्ञानु अधिकारीको ‘समकालीन नेपाली कवितामा साइबर चेतना’, डा. विन्दु शर्माको ‘समकालीन नेपाली कवितामा नारीचेतना’ र सहप्रा. हेमनाथ पौडेलको ‘समकालीन नेपाली प्रगतिवादी कवितामा सौन्दर्य चेतना’सहित शीर्षक ११ वटा समालोचनात्मक लेखहरू कृतिमा समेटिएका छन् ।

विभागीय प्रमुख डा. गिरीले समकालीन नेपाली कविताको विभिन्न पक्षको समालोचनात्मक अध्ययनको आवश्यकता महसुस गरेर प्रतिष्ठानको साहित्य (पद्य) विभागको योजनाअन्तर्गत यो कृति तयार पारिएको बताए । समकालीन नेपाली कविताबारे प्राज्ञिक विमर्शलाई अघि बढाउन यस कृतिले मद्दत गर्ने विश्वास डा. गिरीले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस !