काभ्रेपलान्चोक- तेमाल गाउँपालिका ५ पोखरी नारायणस्थान स्थित सत्यनारायणको मन्दिर परिसरमा गोन्हेङ्या(जनैपूर्णिमा) को बेला लाग्ने जात्रा एवं गोन्हेङ्ह्या मनाउन २ दिन सार्वजनिक विदा दिइएको छ ।

तेमाल गाउँ कार्यपालिकाको साउन १२ गतेको निर्णयानुसार यो भदौ ११ र १२ गते यस गाउँपालिका अन्तर्गतका कार्यालयहरु, शैक्षिक संस्थाहरु, वडा कार्यालयहरु, सरकारी तथा गैर सरकारी (बैंक तथा वित्तीय) संस्थाहरुमा समेत स्थानीय पर्व विदाको रुपमा सार्वजनिक विदा दिने गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।

नारायणस्थान मन्दिरमा लाग्ने धार्मिक जात्रा तथा मेला तेमालको साँस्कृतिक पर्व कै रुपमा विकासित भएको जनाउँदै गाउँ पालिकाले यो पर्व मनाउन सार्वजनिक विदा दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङद्वारा जारी सूचनामा स्पष्ट पारिएको छ ।

तेमालबासीले भदौ शुक्लपूर्णिमाको बेला गोन्हेङ्ह्या पर्व धुमधामका साथ मनाउँछन् । यो बेला खेतबारीमा पाकेको अन्न सबैभन्दा पहिले देवतालाई चढाउने, बत्ती बाल्ने, गुम्बा छ्योर्तेनहरुका साथै सत्यनारायण मन्दिरको समेत दर्शन पूजापाठ गर्ने गर्दछन् ।

तेमाल लगायत आसपासका गाउँपालिका तथा नगरपालिका र अन्य छिमेकी जिल्लाहरुबाट समेत बोन्बोसहित दर्शनार्थी भक्तजनहरु उपस्थित भई अनुष्ठान गर्ने यस जात्रा (मेला) लाई सभ्य र भव्य रुपमामा मनाउन गाउँपालिकाले अनुरोध समेत गरेको छ ।

यो पटक गोन्हेङ्ह्याको अवसरमा नेपाल तामाङ बोन्बो घेदुङ बागमती प्रदेशको आयोजनामा सोही स्थानमा पहिलो ऐतिहासिक बोन्बो महोत्सव पनि आयोजना हुदैछ । यहि भदौ ११ र १२ गते हुने बोन्बो महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बोन्बो घेदुङका बागमती प्रदेश संयोजक बिकेश तामाङ स्याङबाले बताउनुभयो ।

गोन्हेङ्ह्या पर्वको प्रवर्द्धन, बोन सभ्यता र संस्कृतिको उन्नयन, तेमालको सांस्कृतिक धार्मिक पर्यटनको विकासमा सहयोग पुर्याउन यहि बेला गाउँपालिका, प्रदेश सरकार, विभिन्न संघ संस्थासँग सहकार्य गरि बोन्बो महोत्सव गर्न लागिएको उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस !