
- नमोबुद्ध संवाददाता
काठमाडौं– पहिलो तामाङ लेखक बुद्धिमान मोक्तानको संझना गर्दै तामाङ डाजाङले शनिबार आफ्नो नियमित कार्यक्रम ‘ग्योकाई गेताङ’को अवसर पारी ‘तामाङ प्रकाशनको अवस्था र चूनौती’ विषयमाथि छलफल चलायो ।
राजधानीको आरआर क्याम्पसमा आयोजित कार्यक्रममा तामाङ भाषाविद् अमृत योञ्जनले तामाङ प्रकाशनको अवस्था प्रस्तुत गर्दै अहिलेको अवस्था अत्यत्नै कमजोर रहेकोले यसमा वयस्क पुस्तादेखि युवा पुस्तासम्मले ध्यान दिनुपर्ने बताए ।
तामाङ प्रकाशन ६० वर्ष पुगिसकेको अवस्थामा तामाङहरुले आफ्नो दुःखसमेत लेखेर प्रकाशन गर्न नसकेको उनले सुनाए ।
तामाङका गायन क्षेत्रमा राम्रो हुदैं गएको आर्थिक अवस्था पनि राम्रो हुदैं गएपनि साहित्यमा भने युवा पुस्ताले वास्ता नगरेको उनको आरोप थियो । यसको मुख्य कारण साहित्यमा निखार नआएको योञ्जनको धारणा थियो । यसका लागि अबका पुस्ताले नयाँ मिडियामार्फत तामाङ साहित्यमा योगदान दिन सक्ने र योजनाबद्ध कामहरु गर्न सकिने बताए ।
साहित्यकार÷पत्रकार फुलमान वलले राजनीतिक रुपमा तामाङका मुद्दाहरु कमजोर भएकाले साहित्य पनि पछि परेको धाराणा राखे । ‘तामाङको मात्र होइन नेपालीको अवस्था पनि कमजोर नै छ, यो सबै विश्वव्यापी बजारका कारण यस्तो भएको हो, राजनीति र अर्थतन्त्र यसका मुख्य कारण हुन् । यसका लागि हामीले अब इलेक्ट्रोनिक मिडियाबाट हुन्छ अथवा जसरी हुन्छ एक भएर लागेमा तामाङ साहित्य सशक्त भएर जानेछ,’ वलले भने । अहिलेको राजनीतिक अवस्थाले पनि तामाङको पहिचान गुम्ने उनको धारणा थियो । त्यसैले पनि साहित्यमा लाग्नेहरु बागी हुनुपर्ने र समानान्तर सरकार चलाउन सक्ने हुनुपर्ने धारणा राखे ।
तामाङ सञ्चार समूहका अध्यक्ष जगत दोङले तामाङ मिडियाको अवस्था नै अत्यन्त कमजोर रहेको बताए । तामाङ प्रसारणले केही गति लिएको अवस्था केही समयअघि भएपनि अहिले पुनः कमजोर भएको र यस्तै अवस्था तामाङ प्रकाशनले भोग्दै आएको उनको धारणा थियो । यसका लागि तामाङ लेखकहरु व्यवसायिक रुपमा लाग्नुपर्ने उनको धारणा थियो ।
धनम तामाङको दुई किताब सार्वजनिक
कार्यक्रममा धनम तामाङको दुई किताब ठुङह्राप(लोककथा) र सप्सी काव्य विमोचन गरियो । भाषाविद् अमृत योञ्जन र तामाङ लोकसम्राट चन्द्रकुमार मोक्तानले दुई किताब विमोचन गरेका थिए । ठुङ्ह्रापमा उत्पत्तिका कथा रहेको र सप्सी काव्यमा पश्चिमी तामाङका कथाव्यथा उनिएको छ । धनमले यी दुईसहित पाँच कृति बजारमा ल्याइसकेका छन् ।
बुद्धिमानको जन्मजयन्ती मनाइयो
कार्यक्रममा बुद्धिमान मोक्तान ११८ जन्मजयन्ती मनाइयो । कार्यक्रमका विशेष अतिथि भाषाविद् अमृत योञ्जनले मोक्तानको तस्विरमा खादा अर्पण गरी दियो बालेका थिए ।
मोक्तानको जन्म विस १९५६ कात्तिक २७ गते दार्जिलिङमा भएको थियो भने २०२६ वैशाख ९ गते निधन भएको थियो । उनले लेखेको जिक्तेन तामछ्योई तामाङ वंशवली ह्रामा(२०१३) तामाङ समाजको पहिलो पुस्तक मानिन्छ ।