काठमाडौं–कवयित्री निरञ्जना चन्द ‘निरू’को नयाँ कविता–कृति ‘वनफूलको विद्रोह’ पाठकमाझ आइपुगेको छ । सभ्यता अन्वेषण केन्द्रद्वारा हालै आयोजित एक विशेष समारोहबीच नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा वरिष्ठ साहित्यकार गङ्गाप्रसाद उप्रेती र मञ्चमा रहेका विशेष अतिथिहरू प्रा.डा. जीविन्द्रदेव गिरी, प्रा. जगत्प्रसाद उपाध्याय प्रेक्षित, प्रा.डा. हेमनाथ पौडेल, प्रा.डा. देवी नेपाल तथा कवयित्री विमला तुम्खेवाले कृतिको विमोचन गरेसँगै यो कृति पाठकमाझ आएको हो ।
सभ्यता अन्वेषण केन्द्रका अध्यक्ष शशी लुमुम्बूको अध्यक्षता र एलिसा ढुंगानाको सहजिकरणमा भएको कार्यक्रममा कृति विमोचनपछि बोल्दै प्रमुख अतिथि उप्रेतीले कवयित्री चन्दको लेखनशैली समकालीन समाजका यथार्थ, मानवीय संवेदनशीलता र भावनात्मक गहिराइको सशक्त प्रस्तुति भएको उल्लेख गर्नुभयो । उहाँले २०७८ सालमा नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको कविता महोत्सवमै चन्दको काव्य–क्षमताले आफूलाई गहिरो रूपमा प्रभावित पारेको उल्लेख गर्दै भन्नुभयो, “चन्दका कवितामा मार्मिकता छ, तिख्खरता छ र पाठकको अन्तरमनलाई चिर्ने शक्ति छ ।”
उहाँका अनुसार ‘वनफूलको विद्रोह’ शीर्षकले नै प्रकृति–प्रतीकमार्फत स्वतन्त्रता, विद्रोह, अस्तित्व र सामाजिक न्यायको आवाजलाई काव्यात्मक ढङ्गले उठान गरेको संकेत गर्दछ ।
साहित्यकार, समीक्षक तथा कविहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा प्रा.डा. गिरी, प्रा. उपाध्याय, प्रा.डा. पौडेल, प्रा.डा. नेपाल तथा तुम्खेवाले कवयित्री चन्दका कवितामा रहेका जीवनका उतार–चढाव, संवेदना, सामाजिक यथार्थ र मानवीय अनुभूतिका विविध आयामबारे प्रकाश पार्नुभयो ।
समारोहमा कवयित्री चन्दले आप्नो कवितालेखन यात्राका बारेमा प्रकाश पार्नुभएको थियो ।
कवयित्री निरू सिम्ता–साहुखोला (सुर्खेत) जन्मस्थल र बर्दिया कर्मथलो भएकी एक सक्रिय र चर्चित समकालीन कवयित्री मानिनुहुन्छ । यसअघि प्रकाशित साइनो ९२०७६०, निरूको निरूपण ९२०७७० तथा पत्रपत्रिकामा फुटकर कविताका माध्यमबाट उनले काव्य–मञ्चमा पहिचान स्थापित गरिसक्नुभएको छ ।
२०७७ को लुम्बिनी प्रदेश कविता प्रतियोगितामा पहिलो, २०७८ को प्रज्ञा–प्रतिष्ठान राष्ट्रिय कविता महोत्सवमा तेस्रो तथा २०८० को साहित्य सदन राष्ट्रिय कविता महोत्सवमा दोस्रो स्थान हासिल गर्दै उहाँ निरन्तर साहित्यिक यात्रामा स्थापित हुँदै आइरहनुभएको छ । रत्न पुस्तक भण्डारले छापेको कृतिको मुल्य रु. ३९५ रहेको छ ।















