![](https://namobuddhakhabar.com/wp-content/uploads/2017/10/deepak-manage.jpg)
काठमाडौं । सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत देशब्यापी रुपमा बिरोध भएपछि गुण्डा नाइके दीपक मनाङेलाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाउनबाट एमाले पछि हटेको छ । तर, एमालेले टिकट नदिएपछि नवप्रवेशी एमाले कार्यकर्ता मनाङे स्वतन्त्र (बागी) उम्मदेवार बन्ने भएका छन् ।
मनाङको प्रदेशसभा क्षेत्र नम्बर ख बाट प्रत्यक्ष उम्मेदवारका लागि जिल्लाबाट सर्वसम्मत सिफारिस भएका मनाङेलाई उम्मेदवार नबनाउन एमाले स्थायी कमिटीका सबै नेता सहमत भएका हुन् ।
शुक्रवार मध्यरातमा भएको निर्णय अनुसार मनाङ्गेको ठाउँमा एमालेले खण्डा लामा गुरुङलाई उम्मेदवार बनाएको छ । उनी एमालेकी जिल्लास्तरकी महिला कार्यकर्ता हुन् । उनी दिपक मनाङेसँगै राप्रपाबाट एमाले प्रवेश गरेकी थिइन् ।
जिल्लाबाट सर्वसम्मत रुपमा आए पनि र जित्ने निश्चित हुँदा हुँदै पनि एक सिटका कारण देशभर एमालेको बद्नाम हुने भन्दै शीर्ष नेताहरुले दीपक मनाङेलाई टिकट नदिने निर्णय गरेको स्रोतले जनाएको छ ।
दीपक मनाङे एमालेबाट चुनाव लड्नका लागि राप्रपाको सिंगो जिल्ला कमिटीसहित एमाले प्रवेश गरेका थिए । कुनै समय मनाङमा सांसद उम्मेदवार उठाउने मान्छे नपाएको एमालेमा पछिल्लो समय राप्रपाका व्यक्ति एमाले प्रवेश गरेर जिल्ला नेतृत्व गरेका छन् ।
स्थानीय तह चुनावमा जिल्लाका चार गाउँपालिकामध्ये एमालेले दुईवटा जितेको थियो ।
टिकटका लागि एमालेमा प्रवेश गरेका गुरुङले आज स्वतन्त्र उम्मेवजारी दर्ता गर्न लागेको स्रोतले अनलाइनखबरलाई बतायो ।
मनाङेलाई चिनिएनः एमाले
यसैबीच एमालेका ४ नम्बर प्रदेश संयोजक किरण गुरुङले दीपक मनाङेलाई नचिनेर शुरुमा जिल्लाबाट आएको सिफारिस जस्ताको त्यस्तै प्रदेश कमिटीले केन्द्रमा पठाएको बताएका छन् । जिल्लाबाट सिफारिस आउँदा मनाङ २ मा राजिव गुरुङ भनेर आएको थियो ।
दीपक मनाङगेको बास्तविक नाम राजिव गुरुङ हो । सञ्चारमाध्यममा गुण्डा नाइके दीपक मनाङे पनि एमालेबाट उम्मेदवार सिफारिस भएको समाचार आएपछिमात्र राजिव गुरुङनै दिपक मनाङे रहेछन् भन्ने जानकारी पाएको गुरुङले बताए ।
उनले भने-जिल्लाबाट राजिव गुरुङ भन्ने नाम आयो । पछि मिडियाबाट उनी दिपक मनाङे भन्ने थाहा पाएको हो । पार्टीले सबै कुरा बिचार गरेर खण्डा लामा गुरुङलाई टिकट दिएको छ । source:onlinekhabar