काठमाडौं, भदौं ७ । हिंसात्मक प्रदर्शन भइरहेको ठाउँलाई दंगाग्रस्त क्षेत्र घोषणा गरी सरकारले सेना परिचालन गरेकोमा मोहन वैद्य किरण नेतृत्वको नेकपा माओवादीले विरोध गरेको छ । वैद्यले सोमबार बेलुकी विज्ञप्ति निकाली भन्नुभभएको छ ‘सेना परिचालन गर्नु जनअधिकारलाई कुल्चने तथा जनतामाथि दमन अभियान चलाउने निर्लज्ज तानाशाही कदम हो ।’ समस्याका समाधान सेना परिचालन होइन भन्दै वैद्यले विज्ञप्तिमा लेख्नुभएको छ ‘संविधानसभा–२ मार्फत संविधान बनाउने प्रक्रियालाई तुरुन्त रोकी संविधानसभाभित्र तथा बाहिरका राजनीतिक दल र सम्बन्धित सबै सरोकारवाला आन्दोलनरत शक्तिहरूसित अविलम्ब संवाद थाल्न तथा संवादबाटै समस्याको राजनीतिक समाधान खोज्नका लागि हाम्रो पार्टी सरकार र सम्बन्धित सबै राजनीतिक दलहरूसित विशेष अनुरोध तथा आह्वान गर्दछ ।’ तीन दलीय गठबन्धनद्वारा तयार पारिएको संविधानको मस्यौदा र सीमांकन प्रस्तावको विरोधमा देशव्यापी रुपमा नागरिक सडकमा उत्रिएको भन्दै वैद्यले आन्दोलनकारी नागरिकमाथि सरकारद्वारा दमन, धडपकड, अश्रुग्यास प्रयोग, लाठीचार्ज, कर्फयुका साथै गोली चलाउने, जनताको हत्या गर्ने र जातीय सद्भाव खल्बल्याई साम्प्रदायिकता भड्काउने काम भइरहेको आरोप लगाउनुभएको छ । –

प्रतिक्रिया दिनुहोस !