विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका डाक्टर भक्तमान श्रेष्ठको अपहरणमा संलग्न भारतीय नागरिक रोहित पालिवाल सहितलाई १५ वर्षको जेल सजायँ सुनाइएको छ । जिल्ला अदालत चितवनले अपहरणमा फिरौती बापत लिइएको एक करोड आठ लाख ५० हजार रुपैयाँ बिगो तथा बिगो बराबरको जरिवाना र १५ वर्ष कैद सजाय सुनाएको हो । जिल्ला अदालत चितवनका न्यायधिश भोलानाथ चौलागाईंको एकल इजलासले यो मुद्दाको फैसला गरेको हो ।  डा. भक्तमानको २०६७ जेठ ४ गते अपहरण भएको थियो । उहाँ १९ दिनपछि एक करोड आठ लाख ५० हजार रुपैयाँ बराबरको सुन फिरौती बापत बुझाएर अपहरण मुक्त हुनु भएको थियो । डा. श्रेष्ठको अपहरणमा संलग्न ठहर भएका मुख्य  अभियुक्त भारतीय नागरिक रोहित पालिवाल र भिमसेन पण्डितलाई जिल्ला अदालतले अपहरण तथा शरिर बन्धक मुद्धा अन्तर्गत १३ वर्ष कैद र संगठित अपराध भएकोले थप दुई वर्ष सहित १५ वर्ष कैद सजाय फैसला गरेको जिल्ला अदालत चितवनका श्रेष्तेदार शाखा प्रमुख दिनबन्धु बरालले जानकारी दिनुभयो । त्यसैगरी नविन क्षेत्री, बद्रीप्रसाद ढुङ्गाना, सुनिल श्रेष्ठ र सुब्बा तामाङलाई अपहरण तथा शरिर बन्धक मुद्दा अन्तर्गत ११ वर्ष कैद रसंगठित अपराध गरेकोले थप दुई वर्ष कैद गरी १३ वर्ष कैद सजायको फैसला भएको श्रेष्तेदार शाखा प्रमुख बरालले जानकारी दिनुभयो । अपहरणमा संलग्न भनिएका राजेन्द्र पण्डित र गौतम योञ्जनले भने सफाई पाएका छन् । जरिवाना सहित कैद सजाय तोकिएका छ जनाले जनही एक लाख रुपैयाँ जरिवाना पनि तिर्नुपर्ने फैसला जिल्ला अदालत चितवनले गरेको छ । त्यसैगरी १९ दिन अपहरण गरेर राखेकोले डा. श्रेष्ठलाई एक दिनको एक हजार रुपैयाँका दरले १९ हजार रुपैयाँ क्षतिपूर्ती दिने फैसला पनि गरिएको श्रेष्तेदार शाखा प्रमुख बरालले बताउनुभयो ।  डा.  भक्तमानको अपहरणमा संलग्न भएका रोहित पालिवाल, बद्रीप्रसाद ढुंगाना, नविन क्षेत्री र सुनिल श्रेष्ठ थुनामा छन् । अन्य चार जनालाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । डा. भक्तमान मुक्त भएपछि २०६७ साउन १७ गते जिल्ला अदालत चितवनमा अपहरण तथा शरिर बन्धक मुद्दा  दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस !