पोखराको पर्यटकीय लेकसाईडमा रहेको रत्न मन्दिरलाई पाँच तारे होटल बनाउने नेपाल ट्रष्टको योजना असफल भएको छ । पोखरा फेवाताल छेउमा रहेको रत्नमन्दिर र हिमागृह लगायत नेपाल ट्रष्ट मातहतमा रहेको जग्गामा नयाँ संरचना बनाउने योजना लगानी बोर्डले अस्वीकार गरेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभएको छ । केहिदिन अघि बसेको लगानी बोर्डको बैठकमा नेपालभरीका विभिन्न १४ ठाँउमा ५ तारे होटल सहितका नयाँ संरचना बनाउने प्रस्ताव थियो ।

प्रस्ताव मध्ये रत्नमन्दिर र काठमाडौको केशरमहलमा व्यवसायिक प्रयोजनका लागि नयाँ संरचना बनाउने प्रस्ताव आफ्नै पहलमा फिर्ता भएको लगानी वोर्डका सदस्य समेत रहेका उपाध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो । बैठकमा आफुले रत्न मन्दिरलाई सांस्कृतिक महत्वलाई जोगाउदै यसको उपयोगिता लिने गरी वातावरणिय संरक्षण अन्तराष्ट्रिय अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने प्रस्ताव गरेको उपाध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो । आफ्नो प्रस्तावमा प्रधानमन्त्रीले कुनै प्रतिक्रिया नदिएको भएपनि रत्नमन्दिर अब व्यवसायिक प्रयोजनका लागि निजी व्यक्तिले प्रयोग गर्ने कुनै संभावना नरहेको उहाँले बताउनुभयो ।
नेपाल ट्रष्टको कार्यालयले सोमबार मात्रै लेकसाईडमा एक कार्यक्रमको आयोजना गरी जग्गामा अत्याधुनिक होटल रेष्टुरेण्ट कटेजका साथै सडक किनारमा करिब २ सय वटा सटर बनाएर आम्दानी गर्ने योजना सुनाएको थियो । योजनाको पोखराका व्यवसायी तथा सर्वसाधारणले विरोध गरेका थिए । ट्रष्टले १ सय ११ रोपनी जग्गा लामो समयसम्म भाडामा दिएर विभिन्न संरचना निर्माण गरी मोटो रकम आम्दानी गर्ने योजना बनाएको थियो ।

पुर्वराजपरिवारको नेपाल ट्रष्टको नाममा रहेको जग्गाको उपयोगिताको विषयमा विभिन्न धारणहरु सार्वजनिक हुदै आएका छन् । पछिल्लो समय नेपाल सरकारले गठन गरेको फेवाताल छानबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा तालको ६५ मिटर आसपासमा कुनै व्यवसाय गर्न नपाईने भनिएको छ ।

तर रत्नमन्दिर ६५ मिटरभित्रै भएपनि ऐतिहासिक संस्कृतिक सम्पदा भएकाले त्यसको संरक्षण गर्नुपर्ने आफुले सिफारिश गरेको समितिका संयोजक विश्वप्रकाश लामिछानेले जानकारी दिनुभयो । केहि गरी रत्न मन्दिरलाई व्यवसायिक प्रयोजनका लागि दिइए त्यो मापदण्ड अनुसार पनि नपर्ने तथा पोखरा बासिलाई पनि मान्य नहुने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !