काठमाडौं बैशाख १९ । नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई उनका दुई सहयोगीले साथ छोडेका कारण उनी बेचैनीमा परेका छन्।
प्रचण्डका खम्बा मानिने सचिव पोष्टबहादुर बोगटी र स्थायी समिति सदस्य वर्षमान पुनले प्रचण्डलाई साथ मात्र छोडेका छैनन्, आजकाल प्रचण्डले भनेको मान्नु त परै जाओस्, उल्टै प्रचण्डको विचारको प्रतिवाद गर्न थालेका छन्।
स्रोतका अनुसार बाबुरामविरुद्ध सरकारमा बसेर उट्पट्याङ काम गर्न प्रचण्डले निर्देशन दिएपछि पुन र बोगटीले अस्वीकार मात्र गरेनन्, उल्टै प्रतिवाद पनि गर्ने गरेका छन्। भट्टराई सरकार असफल बनाउन प्रचण्डले ऊर्जामन्त्रीसमेत रहेका पार्टी सचिव बोगटीलाई बिजुलीको भाउ बढाउन निर्देशन दिएका थिए, तर मन्त्री बोगटीले संक्रमणकालमा केही नगर्ने भन्दै प्रचण्डको प्रस्ताव इन्कार गरे। आफूले भनेको निर्देशनअनुसार बोगटीले बिजुलीको भाउ नबढाएपछि प्रचण्डले आर्थिक भ्रष्टाचारमा उनको नाम पनि मुछेर कुरा गर्न थालेका छन्। सो कुराको जानकारी पाएपछि बोगटी प्रचण्डसँग बिच्किएका हुन्। स्रोतका अनुसार आजकाल बोगटीले पार्टीलाई बद्नाम गराएको र उपयोगको रणनीति स्वयं पार्टीभित्र गर्न थालेको भन्दै प्रचण्डलाई हप्कीदप्की पनि गर्न थालेका छन्।
यता, नक्कली भ्याट बिल बनाएर राजस्व छली गर्ने उद्योगी र फर्मलाई कारबाही गर्ने नाममा पार्टीलाई रकम जुटाउन प्रचण्डले दिएको निर्देशन अर्थमन्त्री पुनले अस्वीकार गरेका छन्।
उद्योगीसँग पैसा उठाएर वाईसीएलमा रहेका पूर्वलडाकुहरूलाई दिने प्रचण्डको योजना असफल भएपछि उनी ‘अनन्त बाबुरामको भयो, मेरो होइन’ भन्ने गरेको स्रोतले बतायो। क्षमता नभए पनि पार्टीका लागि पैसा उठाउन पुनलाई अर्थमन्त्री बनाएको भनेर कृष्णबहादुर महरा निवासमा स्पष्टीकरण दिने प्रचण्ड आफूलाई भट्टराईलाई बढी विश्वास गरेर पुन हिँड्न थालेपछि उनी थप चिन्तामा परेका हुन्। ‘आपूर्तिमन्त्री लेखराज भट्टले जस्तो भट्टराईलाई अप्ठ्यारोमा पार्ने काममा बोगटी र पुनले कुनै सहयोग नगरेपछि उनीहरूलाई मन्त्री बनाएकोमा प्रचण्ड पछुताउ गरिरहेका छन्,’ स्रोतले भन्यो। भट्टराई सरकार असफल बनाउने योजनामा अहिले भट्ट र पर्यटनमन्त्री लोकन्द्र विष्टमगरले मात्र प्रचण्डलाई साथ दिइरहेका छन्।