नयाँ दिल्ली, वैशाख १५ ।  इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको शुल्क (एयरपोर्ट ट्याक्स) साढे तीन सय प्रतिशत बढ्ने भएको छ । एयरपोर्ट व्यवस्थापन बोर्ड (एरा) ले बविमानस्थल शुल्कमा ३ सय ३४ प्रतिशत बढाउने निर्णय गरेको हो । यो वृद्धि मे १५ देखि लागू हुने छ । यसले अब अन्तर्राष्ट्रिय हवाई भाडामा औसत ५ सय ८० रुपैयाँ र राष्ट्रिय हवाई भाडामा २ सय ९० रुपयाँले वृद्धि हुने दिल्ली अन्तर्राष्ट्रिय एयरपोर्ट प्राइभेट लिमिटेड (डायल) ले जनाएको छ । एयरलाइन्सहरूले अन्तर्राष्ट्रिय उडानहरूमा प्रतिव्यक्ति ५ हजार र राष्ट्रियमा १ हजार रुपैयाँसम्म वृद्धि हुने दाबी गरेका छन् । यो वृद्धिसँगै इन्दिरा गान्धी विमानस्थल पनि संसारका सबैभन्दा महँगा विमानस्थलको सूचीमा पर्ने भारतीय सञ्चार माध्यमहरूको दाबी छ ।विमानस्थल शुल्क बढाउने पछिल्लो निर्णयसँगै नेपाली उपभोक्ताहरू पनि प्रभावित हुनेछन् । दिनहुँ सयौं नेपाली विभिन्न कामका सिलसिलामा हवाई मार्गमार्फत काठमाडौंबाट दिल्ली आउजाउ गर्ने गर्छन् ।यसैगरी, विमानस्थल प्रयोगबापत यात्रुबाट संकलन गरिने शुल्क (युजर डेभेलोपमेन्ट फी) दिल्ली आउनेहरूका लागि पनि लागू हुने भएको छ । यसअघि दिल्लीबाट उड्ने यात्रुले मात्रै त्यस्तो शुल्क तिर्नुपर्थ्यो ।एयरलाइन्स कम्पनीहरूले विमानस्थल शुल्क बढाउने पछिल्लो निर्णयप्रति चर्को असन्तुष्टि व्यक्त गरेका छन् । भारतीय दैनिकहरूले ती कम्पनीका अधिकारीहरूलाई उद्धृत गर्दै घाटामा गइरहेको हवाई क्षेत्रका लागि पछिल्लो निर्णयसँगै यात्रु भाडा बढाउनुको विकल्प नरहेको उल्लेख गरेका छन् । यात्रा व्यवसायी तथा उद्योगीहरूले पर्यटकहरूको आगमनमा कमी आउने तथा दिल्लीलाई हवाई केन्द्रका रूपमा स्थापना गर्ने लक्ष्यमा नकरात्मक प्रभाव पार्ने चेतावनी  दिएका छन् ।

प्रतिक्रिया दिनुहोस !