फ्रान्समा राष्ट्रपति पदका लागि दोस्रो चरणको निर्वाचनपूर्व राष्ट्रपति निकोलास सार्कोजी र उनका प्रतिद्धन्दी फ्रान्कोइस होल्लान्डबीच सार्बजनिक टेलिभिजनमा सार्वजनिक बहस भएको छ। राष्ट्रपति निर्वाचनको चुनावी अभियानकै महत्वपूर्ण भागको रुपमा लिइएको दुवै उम्मेदवारको सार्वजनिक टेलिभिजन बहसलाई लाखौ फ्रेन्च नागरिकले हेरेका छन्। टेलिभिजन बहस मुलुकको वित्तिय ढाँचा र अर्थब्यवस्थाका सम्बन्धमा केन्द्रित रहेको थियो। यसमा दुवै उम्मेदवारले फ्रान्सको कमजोर वित्तिय प्रणाली र बेरोजगारी समस्यालाई आफ्नो प्रमुख मुद्धा बनाएका थिए। राष्ट्रपति सार्कोजीले बहसमा आफूलाई प्रतिद्धन्दी एवं विपक्षीहरुद्धारा मुलुकको वित्तिय प्रणालीमा देखिएको संकट र बेराजगारी समस्याका सम्बन्धमा अनुचित तवरले दोषी देखाउन खोजिएको आरोप लगाएका छन्। जोडदार ढंगमा एकले अर्कालाई आरोप लगाउन पछि नपरेका दुवै उम्मेदवारले आफ्नो नेतृत्वमा फ्रान्सको वित्तिय ढाँचामा सकारात्मक परिवर्तन आउने दावी गरेका छन्।  राष्ट्रपति सार्कोजीले आफ्ना निकटतम प्रतिद्धन्दीबीच सार्वजनिक बहस हुनुपर्नेमा जोड दिदै आएको हुनाले दुवै उम्मेदवारबीच टेलिभिजनमा सार्वजनिक बहसको ब्यवस्था मिलाइएको हो। राष्ट्रपति सार्कोजीले होल्लान्डलाई चुनौती दिँदै सार्वजनिक बहसमार्फत् नै को अगाडि पर्ने हो त्यसको नतिजा थाहा लाग्ने बताएका छन्। फ्रान्समा पहिलो चरणको राष्ट्रपति निर्वाचनमा राष्ट्रपति सार्कोजीलाई समाजवादी पार्टीका उम्मेदवार होल्लान्डले पछि पारेका थिए। होल्लान्डले टेलिभिजन बहसमा फ्रान्स गम्भीर संकटबाट गुज्रिरहेको बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस !