काठमाडौं‐गत भदौ १० गते आएको भोटेकोसी बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको आत्माको चिरशान्तिको कामना गर्दै ज्योमोगाङ घ्याङलेक सामाजिक सेवा नेपालले बुधबार स्वयम्भूस्थित भगवान पाउमा छ्युमी दीप प्रज्वलन कार्यक्रम गरेको छ ।
बौद्ध धर्म परम्पराअनुसार दिवङ्गतहरूको ४९औँ दिनको पुण्यतिथिमा आयोजित कार्यक्रममा दीप प्रज्वलन गरी मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो । कार्यक्रममा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै विपद्का कारण आफन्त गुमाएका परिवारको दुःखमा ऐक्यबद्धता जनाइएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष दिनेश लो तामाङले भोटेकोसी बाढीमा परी ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गतहरूको आत्माको चिरशान्तिको कामना गर्नुभयो । उहाँले शोकको यस घडीमा पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै श्रद्धाञ्जली कार्यक्रममा सहभागी भई साथ र ऐक्यबद्धता जनाउने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
विपद्मा ज्यान गुमाएकाहरूको स्मरण गर्दै शोकसन्तप्त परिवारप्रति सामूहिक संवेदना र मानवीय एकताको सन्देश दिन यस खालको कार्यक्रमको आयोजना गरेको उहाँले बताउनुभयो ।















