काभ्रेपलाञ्चोक-तिब्बत हुदै भदौ १० गते आएको विनासकारी भोटेकोशी बाढीले रसुवा, धादिङ, नुवाकोट लगायतका क्षेत्रमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै तेमाल गाउँपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले विपद्का बेला जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरूको योगदानमार्फत पीडित नागरिकलाई सहयोग गर्ने उद्देश्यले २५ लाख ३३ हजार ३३३ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको अध्यक्ष चन्द्रबहादुर तामाङद्धारा जारी सूचनामा उल्लेख छ ।

गाउँपालिकाका जनप्रतिनिधिहरूको १० दिन बराबरको सेवासुविधा वापतको रकम तथा गाउँपालिकाका सम्पूर्ण कर्मचारी र शिक्षकहरूको पारिश्रमिकबाट कट्टा गरिएको रकम समेत संकलन गरी उक्त सहयोग रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गर्ने निर्णय गरिएको सूचनामार्फत जनाईएको हो ।

गाउँपालिकाले उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

गाउँपालिकाद्धारा जारी सूचना

 

प्रतिक्रिया दिनुहोस !