काठमाडौं– नेपाल तामाङ घेदुङ जोहोर कार्यसमिति, मलेसियाले तिब्बत हुदै भदौ १० गते रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

दिवंगतहरुको चित्त मुक्ति एंव शान्तिका लागि दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको घेदुङ जोहोर कार्यसमितिले विपदबाट प्रभावित परिवारहरूको शीघ्र स्वास्थ्यलाभ तथा सुरक्षित जीवनको कामना गर्दै राहत अभियान सञ्चालन गरेको जनाएको छ ।

प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराउँदै घेदुङले प्रवासमा रहेका नेपाली समुदायले आफ्नो क्षमता र हैसियतअनुसार सहयोग गरेको बताएको हो ।

राहत, उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग र सहकार्यमा जुट्न सबैमा अपिल गर्दै नेपाल तामाङ घेदुङ जोहोर कार्यसमिति, मलेसियाले राहतस्वरूप दुई लाख रुपैयाँभन्दा बढी नगद सहयोग नेपाल तामाङ घेदुङ संघीय समितिको खातामा जम्मा गरिसकेको जनाएको छ ।

श्रद्धाञ्जली अर्पण तथा दिप प्रज्वलन कार्यक्रममा नेपाल तामाङ घेदुङ जोहोर कार्यसमिति, मलेसियाका सचिव मान कुमार थिङ तामाङले पीडित परिवारको दुःखमा घेदुङ सधैँ साथमा रहने बताउनुभयो । उहाँले विपद्को समयमा प्रवासमा रहेका नेपाली समुदायले आफ्नो क्षमता र हैसियतअनुसार सहयोग गर्नुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले विपद्का कारण आफ्ना आफन्त गुमाएका परिवारको पीडा आफूहरुले पनि महसुस गरेको उल्लेख गर्नुहुदै यस्तो दुःखद् अवस्थामा दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पीडित परिवारलाई आवश्यक सहयोग र्पुयाउनु मानवीय दायित्वको रुपमा बुझेको बताउनुभयो ।

नेपाल तामाङ घेदुङका उपाध्यक्ष तथा प्रवास समन्वय संयोजक रुप बहादुर योन्जनका अनुसार प्रवासमा रहेका घेदुङका विभिन्न शाखा तथा समितिहरूबाट प्राप्त राहत सामग्री प्रभावित क्षेत्रमा र्पुयाउने कार्यसमेत अघि बढाइएको छ ।

नेपाल तामाङ घेदुङ इजरायल प्रवास समितिले उपलब्ध गराएको राहत सामग्री नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष रामकृष्ण ब्लोनको नेतृत्वमा हालै रसुवाका विभिन्न प्रभावित क्षेत्रमा पुगेर वितरण गरिसकिएको योन्जनले जानकारी दिनुभयो ।

योन्जनले विपद्को समयमा प्रवासमा रहेका नेपाली समुदायबाट प्राप्त सहयोगलाई प्रभावित परिवारसम्म पुर्याउने कार्यलाई घेदुङले प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभयो । उहाँका अनुसार राहत सामग्री तथा आर्थिक सहयोगलाई आवश्यकताका आधारमा प्रभावित क्षेत्रमा परिचालन गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा निरन्तर सहकार्य गरिनेछ । योन्जनले विपद्को समयमा प्रवासबाट प्राप्त सहयोगले प्रभावित परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गर्दै उद्धार, राहत र पुनःस्थापनाका कार्यमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !