-विकेश तामाङ ,तेमाल । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–५, पोखरी नारायणस्थानस्थित ऐतिहासिक सत्यनारायण मन्दिरमा हरेक वर्ष लाग्दै आएको गोनेङ्ह्या जात्रा (जनैपूर्णिमा मेला) यस वर्ष पनि भदौ ११ र १२ गते विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित आयोजना हुने भएको छ।

मेलाको तयारीबारे जानकारी लिन तेमाल गाउँपालिका–५ का वडा अध्यक्ष हजार सिं तामाङले मंगलबार मेला सञ्चालन हुने स्थल तथा सत्यनारायण मन्दिर परिसरको अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा उहाँले मेला व्यवस्थापन,सरसफाइ, मन्दिर संरक्षण, धार्मिक तथा सांस्कृतिक कार्यक्रम र भक्तजनको सुरक्षालगायतका विषयमा जानकारी लिनुभएको थियो।

वडा नं. ५ को आर्थिक सहयोग तथा स्वयम्भू–बौद्ध–नमोबुद्ध संरक्षण समितिको अगुवाइमा मन्दिर परिसरमा लुङ्ता तथा दर्जु राख्ने काम भइरहेको छ। यस्तै, सत्यनारायण मन्दिर संरक्षण समिति तथा स्थानीयको सक्रियतामा मन्दिर परिसरको सरसफाइ, रङरोगन तथा सौन्दर्यीकरणको काम पनि भइरहेको छ।

ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्व बोकेको गोनेङ्ह्या जात्रा तेमाल क्षेत्रको पहिचान र गौरवका रूपमा स्थापित हुँदै आएको छ। जात्राले मौलिक तामाङ फापर व्हाई, बोन्बो नाच तथा धर्म, संस्कृति र परम्पराको संरक्षणसँगै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

मेलामा सहभागी हुने भक्तजन तथा पर्यटकको सुरक्षालाई मध्यनजर गर्दै तेमाल गाउँपालिकाले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने तयारी गरेको छ। साथै, मेलास्थलमा स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारीसमेत भइरहेको आयोजकले जनाएको छ। यस वर्षको गोनेङ्ह्या जात्रामा करिब ४० देखि ५० हजार भक्तजन तथा पर्यटक सहभागी हुने अनुमान गरिएको मेला आयोजक समितिका अध्यक्ष मकर ध्वज तामाङले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस !