काठमाडौं–भदौ १० गते विहान एक्कासि तिब्बत हुदै भोटेकोसीमा आएको बाढीमा ज्यान गुमाएका मानव तथा सम्पूर्ण प्राणीहरूको चित्त मुक्ति, शान्ति एवं सद्गतिको कामना गर्दै स्वयम्भूमा तीन दिने (देछेन शिड्डुप) पूजा गरिएको छ ।
यहाँस्थित देग्सुम छयोफेलिङ गुम्बामा सोमबार, मंगलबार र बुधबार प्रमुख गुरु परम पावन टुल्कु रानाग रिन्छेन रिन्पोछे (डोल्पो बुद्ध) बाट बुद्ध अमितावा पूजा तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको आयोजक नेपाल बौद्ध शान्ति समाजका अध्यक्ष एवं लामा गुरु पाल्साङबज्र लामा तामाङले बताउनुभयो ।
उहाँका अनुसार बाढिले आक्रान्त बनाएको यस दुःखद् राष्ट्रिय विपत्तिमा पीडित परिवार र प्रभावित समुदायप्रति समवेदना तथा ऐक्यबद्धता जनाउदै गरिएको पूजा मानव तथा सम्पूर्ण प्राणीहरुकै चित्त मुक्ति, शान्ति र सद्गतिका लागि हो ।
देछेन शिड्डुप पूजाको अन्तिम दिन बाढि गएको घटनामा दिवंगत भएकाहरुको सातौं दिनको पुण्यतिथी समेत परेको अवसरमा दुन्छी समेत गरिएको थियो ।
गुम्बा विकास समिति बचाउ नागरिक संघर्ष समितिसँगको सहकार्यमा भएको पूजा कार्यक्रममा उल्लेख्य रुपमा लामा, भिक्षु, बौद्ध शान्ति समाजका पदाधिकारी तथा सदस्य, म्हानिपा आमा समूहका पदाधिकारी तथा सदस्य, धर्म अनुयायी, बाढि प्रभावितहरुका आफन्तजन एवं श्रद्धालुजन सहभागि भएका थिए ।

दुखद घटना भएको ४९ औं दिनमा बाढी प्रभावित क्षेत्रमै पुगेर दिवंगत मानव तथा सम्पूर्ण प्राणीहरुको चित्त मुक्ति र शान्तिका लागि नेपाल बौद्ध शान्ति समाज, अन्य संघसंस्थाहरु मिलेर ङोवा तथा घेवा कार्यक्रम समेत गर्ने तयारी भईरहेको समाजका अध्यक्ष तामाङले जानकारी दिनुभयो ।
तिब्बत हुँदै रसुवाको भोटेकोसी भित्रिएको विनाशकारी बाढीले रसुवाका साथै नुवाकोट, धादिङ, गोरखा, चितवन सम्मको क्षेत्र नराम्ररी प्रभावित भएको छ । बुधबार सम्ममा बाढीमा परेका १ हजार सय २ सय बढीको शव भेटिएका छन् भने करीव ४ हजार मानिस अझै बेपत्ता छन् । हजारौं पशुचौपाय मरेका छन् । खर्वौंको भौतिक क्षति भएको छ ।
















