काठमाडौं-नेपाल तामाङ घेदुङको आयोजनामा सोमबार तामाङ ज्ञान–संस्कृति विमर्श कार्यक्रम हुदैछ ।

दुईदिने कार्यक्रम अन्तर्गत आइतबार संस्कृति घेदुङको संयोजनमा तामाङ स्रस्टा सम्मानः तामाङ ज्ञान–संस्कृति विमर्श कार्यक्रम” सम्पन्न भएको जनाउँदै नेपाल तामाङ घेदुङका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक सञ्चु ब्लोनले आज तामाङ ज्ञान-संस्कृति विमर्श कार्यक्रम हुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुति रविचार विमर्श हुने उहाँले बताउनुभयो । ब्लोनका अनुसार डा. मुक्तसिंह थोकर तामाङद्वारा तामाङ बोन्बो परम्परा र सम्पदा संरक्षण, अजितमान तामाङद्वारा तामाङ समुदायको अभौतिक सांस्कृतिक सम्पदा, राजेन्द्र थोकर तामाङद्वारा तामाङ भाषा, व्याकरण र तामायिक लिपीको सैद्धान्तिक आधार, बुद्धी तामाङद्वारा प्रकृतिसँग सहअस्तित्व, तामाङ ज्ञान, संस्कृति र पहिचान, कुमार यात्रुद्वारा तामाङ आदिवासी ज्ञान र डा चन्द्रा योन्जनद्वारस भारत –अनुभव अदानप्रदान गर्ने कार्यक्रम तय भएको हो ।

कार्यक्रम घेदुङको कार्यालय चुच्चेपाटीमा रहेको घेदुङसभा हलमा बिहान १० बजेदेखि हुने जनाइएको छ ।

घेदुङले संस्कृति घेदुङको संयोजनमा तामाङ स्रस्टा सम्मानः तामाङ ज्ञान–संस्कृति विमर्श कार्यक्रम” अन्तरगत पहिलो दिनकाे कार्यक्रम भव्यताका साथ सम्पन्न गरिसकेको छ ।

पहिलो दिन आइतबार तामाङ संस्कृतिका मर्मज्ञ झ्याम्याङ लामाको १०७ औं र संगित सम्राट गोपाल योन्जनको ८३ औ जन्मजयन्तीको अवसरमा व्यक्तित्वबारे प्रकाश पारिनुका साथै ‘विशेष सांगीतिक कार्यक्रम’ विभिन्न कलाकारबाट दुवै स्रस्टाका गीत प्रस्तुत गरिएको थियो ।

तामाङ संस्कृतिका मर्मज्ञ झ्याम्याङ लामा र संगित सम्राट गोपाल योन्जनका सिर्जनाहरु वरिष्ठ कलाकारहरु चन्द्रकुमार मोक्तान, चन्द्रकुमार दोङ, कुन्ती मोक्तान, शिला बहादुर मोक्तान लगायतले प्रस्तुत गर्नुभएको हो ।

साथै सांगीतिक कार्यक्रम संयोजक छेवाङ तेन्जिङ लामा, लक्ष्मी स्याङतान, विपना लामा, याेजम तामाङ लगायतले पनि गाेपाल याेन्जनकाे गीत गाउनुभयाे ।

कार्यक्रममा लेखक रविन्द्र तामाङले झ्याम्याङ लामाकाे याेगदानकाे चर्चा गर्नुभएको थियो । उहाँले झ्याम्याङ लामा ज्ञानको भण्डार नै रहेको बताउनुभयो ।

लामा कुलमा जन्मेर कला संस्कृति अभियानमा लागेका झ्याम्याङ र उहाँका कृति खोजेर संस्थागत गर्न सकिए समुदायको उन्नयनमा अझ धेरै फाइदा पुग्ने लेखक अनुसन्धानकर्ता तामाङको भनाई छ । उहाँले झ्याम्याङ लामा रेडियो नेपालमा तामाङ गीत लेखेर गाउने पहिलो कलाकार भएको पनि स्पष्ट पार्नुभयो ।

तामाङ संस्कृति घेदुङका अध्यक्ष छेवाङ तेञ्जिङ लामाले स्व. झ्याम्याङ लामा र स्व. गोपाल योञ्जन दुबै जनालाई राष्ट्रिय विभुतीको रुपमा सम्मान गर्नुपर्ने बताउनुभयो ।

उहाँले योञ्जनलाई संगीतको महाविद्यालयको रुपमा बुझेको बताउनुभयो । कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दाेङलाई सम्मान गरिएको थियो ।

कार्यक्रम सफल पार्न पुर्वरथि गायक आसबहादुर तामाङ, चार्चित गायक विश्व दाेङ, वरिष्ठ संगीतकार शिलाबहादुर माेक्तानलायत कलाकार,  बाद्यबादकहरुको पनि उल्लेख्य भुमिका रहेको आयोजकले बताएको छ ।

कलाकार, स्रष्टा, संघसंस्थाका प्रतिनिधि, देश र विदेशस्थित तामाङ संस्थाहरुसँग सहकार्य गरि कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक, नेपाल तामाङ घेदुङका वरिष्ठ उपाध्यक्ष सञ्चु ब्लोनले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !