काभ्रेपलाञ्चोक–तेमाल गाउँपालिका वडा नं. १ लामागाउँस्थित मणिकपुर गुम्बा तथा म्हेमे न्होर्बु नामगेल छ्योर्तेन स्थलको प्रवेशद्धार निर्माण थालिएको छ ।

प्रवेशद्धारको सोमबार लामाहरुको पूजापाठका बीच तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्र बहादुर तामाङले शिलान्यास गर्नुभएको हो ।
गाउँपालिका अध्यक्ष तामाङले सांस्कृतिक, धार्मिक सम्पदाहरुको संरक्षणमा स्थानीयजनमा देखिएको तदारुकताप्रति खुसी व्यक्त गर्नुभयो ।

उहाँले यस खालको महत्वपूर्ण कार्यमा उत्साह थप्नेगरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा नीति तथा बजेटमार्फत सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभयो । व्यक्तिगत रुपमा समेत सक्दो सहयोग गर्न आफू तयार रहेको उहाँको भनाई छ ।

तेमाल गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष इन्द्रबहादुर अधिकारीले यो क्षेत्रको संरक्षणमा वडा तहले पनि चालु आर्थिक वर्ष २०८२÷०८३ मा बजेट बिनियोजन गरेको बताउनुभयो ।

वडा, गाउँपालिका र प्रदेश सरकार, भुसंरक्षण कार्यालयबाट समेत सहयोग प्राप्त भएको उल्लेख गर्दै अपुग बजेटका लागि देश विदेशमा रहेका युवामाझ चन्दा संकलन अभियान समेत सञ्चालन गरिएको आर्थिक संकलन समितिका संयोजक धावा लामाले जानकारी दिनुभयो ।

अहिलेसम्म १५ लाखको हाराहारीमा सहयोग प्राप्त भएको जनाउँदै उहाँले निर्धारित योजनाहरु सम्पन्न गर्न करीब ४० लाख रुपैयाँ बजेट आवश्यक पर्ने अनुमान गरिएको बताउनुभयो ।

गुठीका सदस्यदेखि अन्य गाउँले र सहयोगीहरु कोही श्रमदान गर्न त कोहि आफ्नो गच्छे अनुसार लाखौं रुपैयाँसम्म सहयोग गर्दै यो अभियानमा जोडिदा निकै उत्साह जागेको उहाँको भनाई छ ।

२०७२ को भुकम्पले क्षति पुर्याएको गुम्बा रेक्ट्रोफिटिङ गरिएको छ भने डेढ वर्ष अघि असोजमा गएको पहिरोले जोखिममा परेको गुम्बा र छ्योर्तेन रहेको यो क्षेत्र वरिपरी पर्खाल निर्माण कार्य सम्पन्न भईसकेको छ ।

गुम्बा र ऐतिहासीक छ्योर्तेनहरु रहेको सो क्षेत्रमा अब सोलिङ तथा ढलान, बाँकी रेलिङ निर्माण, लुङद्धार दाज्र्यू फर्फफराउने पोल सहितको संरचना, माने निर्माण सहित गेट निर्माण गर्ने योजना रहेको अभियन्ता रोजय तामाङले जानकारी दिनुभयो ।

छ्योर्तेन संरक्षण एवं व्यवस्थापन समितिका अध्यक्ष धनध्वज तामाङले सरकारी निकाय एवं देशविदेशका दाजुभाई दिदीबहिनीहरुले सकेको सहयोग गरेकोमा आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

मणिकपुर देच्छेलिङ गुम्बा अध्यक्ष कान्छामान लामाले सांस्कृतिक महत्वको गुम्बा र छ्योर्तेनको संरक्षण एवं प्रवद्र्धनका लागि यसरी नै सरकारदेखि स्थानीय सबै जुट्न आवश्यक रहेको बताउनुभयो ।

तामाङ सभ्यता, धर्म संस्कृतिको प्रवद्र्धन हुने यस खालको कार्यमा सबैको साथ आवश्यक रहेको वडाका पूर्व सदस्य मानध्वज तामाङको भनाई छ ।

स्थानीय बुद्धिजीवि नारायणध्वज लामाका अनुसार यो क्षेत्र ऐतिहासीक एवं धार्मिक मान्यताले महत्वका साथ पुज्ने क्षेत्र हो । यहाँ प्रोसिङ्गरको पूर्खा नम्गेल र नोर्बुका साथै अन्य ह्रुइका तामाङहरुले समेत पूर्खाको सम्मानमा निर्माण गरिएका छ्योर्तेनहरु रहेका छन् ।

२०१७ सालपछि थप व्यवस्थित गरी ऐतिहासीक छ्योर्तेनको संरक्षण एवं विकास, २०५४ मा गुम्बाको समेत निर्माण गरी यहाँ प्रत्येक वर्ष चैत, गोन्हे र कात्तिक पूर्णिमाको बेला छो, बत्ती चढाउने पूजापाठका साथै प्रत्येक तीन वर्ष पुगेको अवसरमा छ्याने ह्राब्ने गरिदै आएको छ ।

यहाँ रहेको म्हेम्हे नाम्गेल छ्योर्तेनको दर्शन पूजा गर्नाले सन्तान सुख प्राप्त हुन्छ भने म्हेम्हे नोर्बू छ्योर्तेनको दर्शन पूजा गर्नाले मुद्धा मामिलाबाट पार एवं न्याय निशाफ पाइने विश्वास रहेको स्थानीय पाका सुब्बा तामाङले बताउनुभयो ।

यो ऐतिहासीक एवं धार्मिक आस्थाको क्षेत्रमा आएर गुम्बा, छ्योर्तेनको दर्शन, पूजा गर्नाले सुखशान्ति मिल्ने स्थानीयहरु बताउँछन् ।

केहि स्थानीय बुढापाकाका अनुसार यो क्षेत्र बौद्ध धर्म गुरु पद्मसम्भवले मणि दिएको स्थल हो । त्यसैले यहाँको नाम मणिकपुर रहन गएको हो, जहाँ अहिले पनि गुरु पद्मसम्भवले टेकेको दाहिने खुट्टाको डोब तथा मणिको रुपमा दिएका छ्योअीका ठेला शिलामा देख्न सकिने बताउँछन् । यद्यपी यसको स्वतन्त्र पुष्टिका लागि भने उत्खनन्, अध्ययन अनुसन्धान आवश्यक रहेको औंल्याइएको छ ।

यहाँका तामाङहरु यो गाउँलाई मेफ्राङार पनि भन्दछन् । आधुनिक राज्य विस्तारको क्रममा तत्कालिन गोर्खाका राजा पृथ्वी नारायण शाहका सेनाले यहाँ ग्ले ह्रेञ्जेन दोर्जेको तेमाल राज्य विजयीका लागि आक्रमण गर्दा मालअड्डा रहेको यो क्षेत्र आगलागी गरेर खरानी(मेफ्रा) मा परिणत गराएकोले त्यसपछि भने यो ठाउँको नाम मेफ्राङार रहन गएको भन्ने किम्बदन्ती समेत रहेको पूर्व शिक्षक तथा बुद्धिजीवि लालध्वज तामाङको भनाई छ ।

ऐतिहासीक, धार्मिक, सांस्कृतिक यो क्षेत्रमा रहेका सम्पदाहरुको संरक्षण, प्रवद्र्धनमा युवा जमात शसक्त रुपमा लागि परेका हुन् । यसमा सरकारदेखि दशेविदेशका सबैले हातेमालो गर्दै पाईएको छ । इतिहासको उत्खनन्, छ्योर्तेन गुम्बाको संरक्षणमार्फत पर्यटन प्रवद्र्धन हुने अपेक्षा समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !