धुलिखेल– प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ दुई निर्वाचन क्षेत्र रहेको काभ्रेपलाञ्चोकको क्षेत्र नं. १ बाट पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जीत निकालेको छ ।

फागुन २१ मा सम्पन्न निर्वाचनको आइतबार विहान सम्पन्न मतगणना अनुसार क्षेत्र नं. १ बाट रास्वपाकै मधुकुमार चौंलागाईं हजारौं मतान्तरले निर्वाचित हुनुभयो ।

घण्टी चुनाव चिन्हका चालागाईंले २९ हजार ६१८ मत प्राप्त गरी विजयी बन्नुभएको हो । उहाँका निकतम प्रतिद्धन्दी नेपाली काँग्रेसका उम्मेदवार गुणराज मुक्तानले १९ हजार १६६ मत प्राप्त गर्नुभयो ।

चौंलागाईंले करीव १० हजार मतान्तरले जीत निकाल्नुभएको हो । निर्वाचनको पूर्वसन्ध्यासम्म यो क्षेत्रमा काँग्रेस र एमालेको कडा टक्कर हुने अनुमान गरिएको थियो । तर नेकपा एमालेका उम्मेदवार अमित लामा चौथो नं. मा पर्नुभयो भने नेकपामा दिनानाथ गौतमले तेस्रो मत पाउनुभयो ।

गौतमले १४ हजार १८४ मत पाउनुभयो भने लामाले १३ हजार ८१४ मत प्राप्त गर्नुभयो ।

देशभर झैं यो जिल्लामा पनि रास्वपाको माहोल रहेको पुष्टि भएको छ । क्षेत्र नं. १ मा भने शहरी क्षेत्रमा देखिएको राम्रो प्रभावले जित निकल्न सफल भएको देखिन्छ । यो निर्वाचन क्षेत्र अन्र्तगत पर्ने महाभारत, खानीखोला, रोशी, तेमाल, उम्मेदवारको आफ्नै गाउँपालिका चौंरीदेउरालीमा समेत पछि रहेको रास्वपा पनौती, धुलिखेलका साथै नमोबुद्ध नगरका मतदान केन्द्रहरुमा झरेको अत्याधिक मतले विजयी भएको हो ।

रास्वपाले काभ्रेपलाञ्चोक जिल्लाको क्षेत्र नं. २ का साथै क्षेत्र नं. १ मा पनि विजयीको झण्डा गाढेको हो । क्षेत्र नं. २ मा निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेका मधु आचर्यले १७ हजार ८६८ मत प्राप्त गर्दा रास्वपाका बदन भण्डारीले ५३ हजार ३४४ मत प्रप्त गरी विजयी भइसक्नुभएको छ ।

सुशाषन कायम, भ्रष्टाचारको अन्त्य लगायतका लोकप्रिय नारा दिएपनि देशको नेतृत्व र विकासका सवालमा स्पष्ट नीति, सिद्धान्त एवं दुरदृष्टि नरहेको भनि आलोचना खेप्दै आएको रास्वपा काभ्रेली जनताको पनि राजाईमा परेको छ ।

यसलाई सामाजिक सञ्जालमार्फत फैलिएको हुइम्, पुराना दलले सहि र जनताका स्पष्ट मुद्दा बुझाउन नसक्नुको परिणाम मानिएको छ भने कतिले पुराना राजनीतिक दल, दलका नेताहरुको प्रवृत्तिप्रतिको वितृष्ण, रिस, आक्रोसको रुपमा मात्र नभई जनताको विश्वास रास्वपाले पाएको पुष्ट्याईंको रुपमा पनि हेरिएको छ ।

२०५६ सालको संसदीय निर्वाचनसम्म नेकपा एमालेको गढको रुपमा रहेको काभ्रे क्षेत्र नं. १ मा त्यसपछि भएको निर्वाचनहरु तत्कालिन माओवादी र नेपाली काँग्रेसले जित्दै आएको थियो ।

मुलुक शान्ति प्रक्रियामा आएपछि २०६४ सालमा भएको संविधानसभा निर्वाचन तत्कालिन माओवादीले जितेको थियो । सो समय जिल्लामा रहेको ४ निर्वाचन क्षेत्रमध्ये १ र २ निर्वाचन क्षेत्र रहेको अहिलेको क्षेत्र नं. १ को भुगोलमा पुनः २०६९ मा भएको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमालेले जितेका थिए ।

नयाँ संविधान जारी पश्चात २०७४ मा भएको संसदीय निर्वाचनमा बाम गठबन्धनबाट तत्कालिन माओवादीले जितेको यो क्षेत्रमा २०७९ को संसदीय निर्वाचनमा काँग्रेस माओवादीको लोकतान्त्रिक बाम गठबन्धन विजयी भएको थियो ।

अहिले यहाँ नयाँ शक्तिको रुपमा रास्वपाको उदयसँगै नेपाली काँग्रेस र तत्कालिन माओवादी नेतृत्वको अहिलेको नेपाली कम्युनिष्ट पार्टीको गढ भत्किएको छ भने २०५६ सालअघिको आफ्नो किल्ला रहेको विरासत फर्काउने नेकपा एमालेको सपनामा आगामी ५ वर्षका लागि विराम लागेको छ ।

कुन उम्मेदवारले कति ल्याए ?

 

प्रतिक्रिया दिनुहोस !