
बनेपा–विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था बनेपाले आफ्ना इकाईहरुमा ३२ औं साधारणसभा शुक्रबार र शनिबार सम्पन्न गरेको छ ।
बनेपामा मुख्य कार्यालय भई विभिन्न स्थानमा सेवा केन्द्र र ७ सेवा कार्यालयमार्फत समेत कारोबार गर्दै आएको संस्थाले असोज ३ र ४ गते इकाईगत रुपमा साधारणसभा गरेको हो ।
बनेपा, पाँचखाल, ढुंखर्क, बानेश्वर इकाई र यस अन्र्तगतका उपइकाईको असोज ३ गते, खोपासी, पनौती र भकुण्डेवेशी इकाई र यस अन्तर्गतका उपइकाईको असोज ४ गते साधारणसभा सम्पन्न गरिएको प्रमुख कार्यकारी अधिकृत केबी स्याङतानले बताउनुभयो ।
उहाँका अनुसार साधारणसभाको निर्णय प्रमाणिकरण सभा भने असोज ८ गते संस्थाको मुख्य कार्यालय बनेपामा हुनेछ । यसका लागि प्रतिनिधि छनौट कार्य भइसकेको छ ।
समुदायमा आधारित रहेको सञ्चालनमा रहेको यस सहकारी विभिन्न समयमा विभिन्न निकायबाट सम्मानित भइसकेको छ । एशियाली ऋण महासंघ (अक्कु)बाट समेत क्युमी अवार्ड प्राप्त गर्न सफल यस सहकारीले ५९ हजार ३ सय ७१ सदस्य, १२ हजार १ सय ८६ शैक्षिक बाल बचतकर्ता सहित ७१ हजार ५ सय ५७ जनालाई सेवा दिदै आएको छ ।
यस सहकारी संस्थाले असोज २ गतेसम्म ५ अर्व ४३ करोड २७ लाख ७ हजार ८० रुपैयाँको कारोबार गरेको नायव प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार सहकारीमा ५४ करोड ९० लाख ७ हजार ५ सय शेयर पुँजी, ४ अर्ब ६ करोड ४५ लाख ८६ हजार ३ सय १५ रुपैयाँ बचत छ भने ३ अर्ब ५४ करोड ३१ लाख १८ हजार ऋण लगानी गरेको छ ।