- जगत तामाङ,
काठमाडौं‐नेपाल तामाङ बोन्बो घेदुङ बागमती प्रदेश कमिटीले शनिबार काठमाडौंमा प्रदेशभरका तामाङ अगुवा बोन्बोहरुको भेला सम्पन्न गरेको छ ।
नेपाल तामाङ घेदुङका सहअध्यक्ष सरोजमोहन मोक्तानको प्रमुख आतिथ्यतामा भएको भेलामा तामाङ सुमदायमा बोन सभ्यता, संस्कार, संस्कृति तथा ठिमको इतिहास र बर्तमान अवस्थाबारे विचार विमर्श गरिएको थियो ।
कार्यक्रममा घेदुङका सहअध्यक्ष मोक्तानले बोन्बोहरु लामाहरु जसरी संख्यात्मक रुपमा सजिलै बढाउन नसकिने उल्लेख गर्दै जतिले ज्ञान हासील गर्छन् तिनीहरुको एकता महत्वपूर्ण रहेको बताउनुभयो ।
बोन्बोहरुको ज्ञान कुल पुर्खा, देवताहरुबाट चढ्ने विश्वास परम्परा अनुसार पुस्तान्तरण हुदै आएको उल्लेख गर्दै उहाँले त्यसरी प्राप्त ज्ञानलाई व्यबस्थित रुपमा प्रवद्र्धन गर्न मात्र सहि गुरु र नेतृत्वको आवश्यकता हुने बताउनुभयो ।
समुदायको पहिचानको रुपमा रहेको बोन ठिमको प्रवद्र्धनमा यस खालको भेलाको महत्व रहेको उहाँको भनाई छ ।
कार्यक्रममा लेखक तथा अनुसन्धानकर्ता खोजराज गोलेले तामाङ, बोन ठिमको परम्परा र वर्तमान अवस्थाबारे प्रस्तुती दिनुभएको थियो ।
प्रस्तुतीका क्रममा उहाँले बोन संस्कति र ठिम, ज्ञान परम्पराको उचित खोज अनुसन्धान र विकास भन्दा यसलाई अन्धविश्वासको रुपमा लिदा नकारात्मक भाष्य सिर्जना भएको बताउनुभयो ।
उहाँले आफ्नो समुदायको पहिचान, जीवनसँग जोडिएको बोन ज्ञान परम्पराको प्रवद्र्धन आवश्यक रहेकोमा जोड दिनुभयो ।
यसको विश्वसनीयता, बैज्ञानिक र व्यवहारिक अभ्यासको पाटो थप बलियो बनाउन सबै बोन्बोहरु जुट्न आवश्यक रहेको उहाँको भनाई थियो ।
बोन्बो घेदुङ बागमती प्रदेश कमिटिका संयोजक बिकेश स्ह्याङबाको अध्यक्षतामा भएको भेला तथा अन्तरक्रियाका वक्ताहरुले नेपालमा विद्यमान बोन्बो र झाँकी पम्पराबारे स्पष्ट भएर अघि बढ्न आह्वान गरेका छन् ।
पछिल्लो समय संयौ ठाउँमा माता, झाँक्रीको नाममा पसल खोलेर व्यवसायिक कार्य हुदै आउँदा बोन्बोहरुलाई पनि त्यसरी हेर्नु गलत रहेको वक्ताहरुको भनाई थियो ।
कोही मानिसले चाहेर साधना मात्र गर्दैमा बोन्बो बन्न नसकिने भन्दै उनिहरुले यसको वास्तविक खोज अनुसन्धान गर्ने, बर्गीकरण गर्ने कार्य सरकारले गर्न सक्नुपर्नेमा जोड दिइएको छ ।
कार्यक्रममा विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ संघीय सचिव विना माम्बा तामाङ, घेदुङ उपमहासचिव बिलम मोक्तान, बोन्बो घेदुङ संघीय अध्यक्ष पदम बहादुर जिम्बा, लेखक अनुसन्धानकर्ता केशव आचार्य, बोन्बो अनुसन्धानकर्ता गुणराज तामाङ, स्ह्याङबा समाजका केन्द्रिय सदस्य सुब्बा स्ह्याङबो लगायतले धारणा राख्नुभएको थियो ।
विश्व आदिवासी दिवस भव्य बनाउन जुट्ने, तेमालमा ‘प्रथम ऐतिहासीक बोन्बो महोत्सव’ गर्ने
भेलाले यहि साउन २४ गते काठमाडौंमा मुल समारोहका साथ मनाउने ३२ औं विश्व आदिवासी दिवस भव्य रुपमा सम्पन्न गर्न बोन्बोहरु समेत सशक्त रुपमा जुट्ने निर्णय गरेको छ । आफ्नो अधिकार र पहिचानका लागि विभिन्न जिल्लाबाट बोन्बोहरु आफ्नो झाँकीसहित प्रस्तुत हुने भएका हुन् ।
यसका साथै काभ्रेपलाञ्चोकको तेमालमा आउँदो भदौ ११ र १२ गते प्रथम ऐतिहासीक बोन्बो महोत्सव गर्ने औपचारीक घोषणा गरेको छ ।
भदौ शुक्ल पूर्णिमा (गोन्हेङ्ह्या) पर्वको अवसरमा तेमाल गाउँपालिका वडा नं. ५ मा अवस्थित पोखरी नारायणस्थानमा लाग्ने मेलाकै बेला आयोजना गर्न लागेको दुई दिने बोन्बो महात्सव भव्य रुपमा सम्पन्न गर्न मुल समारोह समिति घोषणा गरिएको हो ।
बोन्बो घेदुङ बागमती प्रदेशका संयोजक बिकेश स्ह्याङबाको संयोजकत्वमा गठित मुल समारोह समितिमा अगुवा बोन्बो, सामाजिक अभियन्ता लगायत रहेका छन् भने स्थानीय समिति उपसमितिहरु समेत बनाउने जनाईएको छ ।
प्राचीन बोन धर्म, संस्कृति, ठिमको पहिचानसँगै तेमाल नारायणथानको गोन्हेङ्ह्या जात्रा तथा तेमालको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले बोन्बो महोत्सव गर्ने भएको आयोजक नेपाल तामाङ बोन्बो घेदुङले जनाएको छ ।
महोत्सव सफल बनाउन तेमाल गाउँपालिका, वडाहरु, बागमती प्रदेश सरकार, नेपाल तामाङ घेदुङ, स्थानीय समन्वय समिति, सहयोगी संघसंस्थाहरुको महत्वपूर्ण सहयोग रहने विश्वास गरिएको छ ।
आयोजकका अनुसार महोत्सवमा तेमालका स्थानीय वडाहरुका साथै, छिमेकी पालिकाहरु, बोन्बो घेदुङका काभ्रेपलान्चोक, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, ललितपुर, भक्तपुर, रसुवा जिल्ला समन्वय कमिटीमा आवद्ध बोन्बोहरु सहभागि हुनेछन् ।















