-
शिशिर दोङ-
काभ्रेपलाञ्चोक‐देशका ७ सय ५३ स्थानीय तहरुमध्ये मण्डनदेउपुर नगरपालिका देशकै पहिलो पूर्णखोप विद्यालय सुनिश्चित नगरपालिका हुन सफल भएको छ ।
नगरभित्रका सम्पूर्ण विद्यालयमा भर्ना भएका ५९ महिना मुनिका बालबालिकाले ५९ महिनाभित्रै राष्ट्रिय पूर्णखोप निर्देशिका बमोजिम सबै खोप प्राप्त गरेको सम्बन्धित निकायबाट प्रमाणित भएपछि शुक्रबार एक औपचारिक समारोहका बीच यस नगरपालिकालाई पूर्णखोप विद्यालय सुनिश्चित नगरपालिका घोषणा गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला खोप समन्वय समिति काभ्रेका संयोजक तथा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमले मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाइबालाई पूर्णखोप विद्यालय सुनिश्चित नगपालिका भएको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गौतमले पूर्णखोप भनेको केवल खोप लगाउने कार्य मात्र नभई प्रत्येक बालबालिकाको जीवन सुरक्षित गर्ने वैज्ञानिक सुरक्षा कवच भएको बताउनुभयो । उहाँले पूर्णखोपको उद्देश्य रोग लागेपछि उपचार गर्नु नभई रोग लाग्नै नदिने वातावरण सिर्जना गर्नु रहेको उल्लेख गर्नुभयो ।
प्रमुख गौतमले नरपालिका नेतृत्व, जिल्ला जनस्वास्थ्य कार्यालय, स्थानीय स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेवीका, विद्यालय परिवारको संयुक्त मिहेनतले मण्डनदेउपुरका बालबालिकाको जीवन सुरक्षा र विकासमा यस खालको महत्वपूर्ण उपलब्धी हाँसील गरेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
मण्डनदेउपुर नगरपालिकाका प्रमुख एवं स्थानीय नगर खोप समन्वय समिति प्रमुख टोक बहादुर वाइबाले संविधानले परिभाषित गरेको मौलिक हकको दायराभित्र रहेर स्थानीय सरकारले गर्नुपर्ने दायित्वलाई निष्ठापूर्वक पूरा गरेको बताउनुभयो ।
समृद्ध नगरपालिका बनाउन, यहाँका नागरिकलाई स्वस्थ सवल रुपमा स्थापित गर्न स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दै आएको नगर प्रमुख वाइबाको भनाई छ ।
२०७४ मा पहिलो पटक स्थानीय सरकारको नेतृत्वमा संस्थापक भएर आएदेखि नै नगरले योजनाबद्ध रुपमा स्वास्थ्य शिक्षा लगायतका क्षेत्रमा यस खालका धेरै उपलब्धीहरु हाँसी गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।
नगरका उपप्रमुख विष्णुमणी नेपालले पूर्णखोप विद्यालय सुनिश्चित पालिका कार्यक्रमलाई प्रभावकारी र दिगो बनाउन सबै क्षेत्रको सहकार्य, समन्वयलाई निरन्तरता दिने बताउनुभयो ।
पूर्णखोप सुनिश्चित नगरपालिका घोषणा गरिसकेको यस नगरमा पूर्णखोप विद्यालय सुनिश्चित पालिका घोषणाले महत्वपूर्ण अर्थ राख्ने जनाउँदै उहाँले सांकेतिक रुपमा थालिएको यो अभियान दिर्घकाल सम्म लैजानुपर्नेमा जोड दिनुभएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका खोप अधिकृत पारथमणि न्यौपानेले मण्डनदेउपुर नगरपालिकाले ऐतिहासीक कार्य गर्न सफल भएकोमा बधाई ज्ञापन गर्नुभयो ।
काभ्रेपलाञ्चोकमा आफ्नो बसाईको क्रममा मण्डनदेउपुर नगरले वातावरण अनुकुलित खोप सुनिश्चित पालिका घोषणा गरेको केहि महिनामै यहि नगरसँग नेपालकै पहिलो पूर्णखोप विद्यालय सुनिश्चित नगरपालिका बनाउन सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
बालबालिकालाई कुनै पनि खोपबाट बञ्चित नगराउने कार्य यसरी पूर्णखोप विद्यालय सुनिश्चित पालिका बनाउन सकिएमात्र पूर्ण रुपमा सफल हुने न्यौपानेको भनाई थियो ।
मण्डनदेउपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख (सिअहेव अधिकृत) दिपक कुमार घिमिरेका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा नगरभित्रका सम्पूर्ण विद्यालयमा भर्ना भएका ५९ महिना मुनिका बालबालिका, १५ महिनाभित्र पाउनुपर्ने सबै खोपहरु, निर्धारित खोप तालिकामा छुट भएका खोप (मण्डनदेउपुरमा यस्तो नभेटिएका) समेत ५९ महिनाभित्रै पूरा गरी २०८३ जेठ ११ गते पूर्णखोप विद्यालय सुनिश्चितता गरिएको हुदा शुक्रबार औपचारिक रुपमा घोषणा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा पूर्णखोप विद्यालय सुनिश्चित नगरपालिका कार्यक्रमलाई निरन्तरताका लागि प्रतिवद्धता स्वरुपमा प्रमुख अतिथि, अतिथिदेखि जनप्रतिनिधि, स्थानीय विद्यालय, स्वास्थ्य संस्थाका प्रतिनिधिहरुले हस्ताक्षर समेत गरेका थिए ।
साथै नगरपालिकाको तर्फबाट पूर्णखोप अभियान सफल बनाउन सहयोग गर्ने जिल्ला जनस्वास्थ्य कार्यालय, विश्व स्वास्थ्य संगठन प्रतिनिधि, विद्यालय, स्वास्थ्य संस्था लगायतलाई कदरपत्र प्रदान गरिएको थियो ।
















