काभ्रेपलाञ्चोक-तेमाल गाउँपालिकाका अध्यक्ष एवं विपद् व्यवस्थापन समितिका संयोजक चन्द्रबहादुर तामाङको सभापतित्वमा बुधबार गाउँपालिका र श्री त्रिनेत्रदल गण भकुण्डेबेँसीको संयुक्त आयोजनामा विपद् रोकथाम तथा युवा परिचालन सम्बन्धी एक विशेष कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाको केन्द्र पोखरी नारायणस्थानमा भएको कार्यक्रममा त्रिनेत्रदल गणका प्रमुख सेनानी सापकोटाद्वारा सैद्धान्तिक र सैन्य प्रतिनिधिहरूद्वारा प्रयोगात्मक रूपमा प्रशिक्षण सञ्चालन गरिएको थियो ।

यस प्रशिक्षणले सहभागीहरूलाई विपद् आउनु अगाडि अपनाउनुपर्ने पूर्वतयारी र विपद् आइसकेपछि गर्न सकिने उद्धार तथा व्यवस्थापनका कार्यहरूका बारेमा महत्वपूर्ण व्यावहारिक ज्ञान प्रदान गरेको गाउँपालिका अध्यक्ष तामाङले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दलमान थोकर, प्रमुख प्रशासकीय अधिकृत श्री योगेन्द्र राज गुरुङ्ग ९सेबक०, र त्रिनेत्रदल गण भकुण्डे ब्यारेकका प्रमुख राममणी सापकोटाको विशेष उपस्थिति रहेको थियो ।

त्यस्तै विभिन्न वडाका वडाध्यक्षहरू, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरू, स्वास्थ्य संस्था तथा एकाइका इन्चार्ज एवं स्वास्थ्यकर्मीहरू, र सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो ।

विपद् व्यवस्थापनका लागि युवाहरूको भूमिकालाई केन्द्रमा राख्दै आयोजना गरिएको यस कार्यक्रममा वडा नं. १ देखि ९ सम्मका युवा तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस !