काठमाडौं– पत्रकार हिरोज लोप्चनलाई तामाङ चलचित्र संघले सञ्चारतर्फ २०८२ को टिएफआर सम्मान प्रदान गरेको छ ।

तिसौं तामाङ चलचित्र प्रदर्शन दिवसको अवसरमा राजधानीमा आयोजित समारोहका बीच लोप्चनलाई कार्यक्रमका विशिष्ट अतिथि रोशी गाउँपालिकाका पूर्व अध्यक्ष डिबी लामाले दोसल्ला र सम्मानपत्रद्धारा सम्मानित गर्नुभएको हो ।

तामाङ चलचित्र उद्योगलाई सुदृढ बनाउन, तामाङ सांस्कृतिक पहिचानलाई विश्वसामु चिनाउन सञ्चार क्षेत्रबाट पुर्याएको योगदानको कदर गर्दै खुल्लापत्र अनलाइनमा कार्यरत लोप्चनलाई सम्मान गरिएको तामाङ चलचित्र संघका अध्यक्ष विनायक लोप्चन तामाङले बताउनुभयो ।

पत्रकार लोप्चन २०७८ साल माघ १२ गते धर्म टेलिभिजनमा कार्यक्रम प्रस्तोता भएर सञ्चार जगतमा औपचारिक प्रवेश गर्नुभएको  थियो । उहाँसँग टुरिजम मिडिया नेटवर्कमा कन्टेन्ट क्रिएटर र भिडियो सम्पादक हुँदै युनिभर्सल टेलिभिजनमा को–अर्डिनेटरको भुमिसम्म निर्वाह गरेको अनुभव छ ।

हाल खुल्ला पत्र डटकम सञ्चार संस्थाका अध्यक्ष लोप्चनले कला, संस्कृतिका साथै सामाजिक, राजनीतिक सरोकारका विषयमा शसक्त बहस चलाउँदै आउनुभएको छ ।

सम्मानित हुदा गर्वानुभुति महसुस गरेको उल्लेख गर्दै लोप्चनले समुदायको शसक्तिकरण एवं रुपान्तरणका लागि आफ्नो सञ्चारकर्म थप बलियो बनाउन थप उर्जा मिलेको बताउनुभयो ।

तामाङ भाषामा पहिलो पटक स्व. जयनन्द लामाको लेखन र निर्देशनमा निर्मित ‘सेमरी छोरङान’ चलचित्र २०५२ साल भदौ १६ गते प्रदर्शन भएको दिनको सम्झनामा तामाङ चलचित्र प्रर्दशन दिवस मनाईदै आएको छ ।

यहि अवसरमा आयोजित कार्यक्रममा चलचित्र कला क्षेत्रका अन्य विभिन्न विधातर्फका १८ जनालाई पनि टिएफआर सम्मान प्रदान गरिएको छ भने ३ जना सामाजिक अभियन्ताहरुलाई विशेष सम्मान गरिएको छ ।

संघका अध्यक्ष विनायक लोप्चनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामा, विशिष्ट अतिथिको रुपमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, रोशी गाउँपालिकाका पूर्व अध्यक्ष डिबी लामा, अतिथिको रुपमा विभिन्न गाउँपालिकाका उपाध्यक्षहरु एवं जनप्रतिनिधिहरु, सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !