काठमाडौं–साहित्यकार निरूभक्त वाइबा तामाङको नयाँ कविता संग्रह ‘ओ प्रिय मनजङ्गल’ हालै सार्वजनिक गरिएको छ ।

प्रकाशक एससीआरसीद्धारा काठमाडौंमा शुक्रबार आयोजित एक समारोहका बिच यो कृति नेपाल सरकारका पूर्वसचिव धन बहादुर तामाङले विमोचन गर्नुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तामाङले प्रकृतिलाई माया गर्नेले आफ्नो माटो, जनता, संस्कृति सबै पाटोलाई माया गर्दछन् भन्ने सन्देशका साथ यो कृति आएको बताउनुभयो ।

समुदायको सांस्कृतिक जागरणदेखि भोगिरहेको समस्याको उजागर गर्ने कार्य यो कृतिले गरेको उल्लेख गर्दै उहाँले मातृभाषामा पनि साहित्य लेख्न नछोड्न सुझाव दिनुभयो ।

उक्त कृतिमाथि लेखक तथा अनुसन्धानकर्ता रविन्द्र तामाङ र खोजराज गोले तामाङले समिक्षात्मक चर्चा गर्नुभयो ।

भाषा, लेखनशैली हेर्दा नेपाली साहित्यमा अब्बल तथा उत्कृष्ट कृतिको रुपमा ‘ओ प्रिय मनजङ्गल’ आएको समिक्षक रविन्द्र तामाङको भनाई छ ।

उहाँले भन्नुभयो,–‘उहाँका कविताहरु बाैद्दिक वर्गले मात्रै बुझ्न सक्छन्, कविताहरुमा ताम्सालिङको चिन्ता छ, याम्बुको चिन्ता छ । अब यसरी जानुपर्छ है भनेर लेखकले दिशानिर्देश गर्ने वा आफ्नो निचोड पनि राखेकाे भए अझ राम्रो हुन्थ्यो ।’

अर्का समिक्षक खोजराज गोलेले पनि निरुभक्तको कविताहरु तामाङ समुदायका विविध मुद्धाहरुमाथि चिन्तन गर्दै समुदायको आवाज उठाउन शसक्त रहेको बताउनुभयो ।

‘हाम्रो मष्तिकले सोचेका, कल्पना गरेका, अनुभुत गरेका कुराहरु हुन् । यसरी नै हाम्रो मष्तिक भरियो । भरिदा भरिदै पनि खाली छ । खाली हुदा हुदै पनि भरिदो छ, यसलाई बुद्ध दर्शनमा महासुन्यता भनिन्छ । यसलाई बुद्धिजम् बुझ्नेले मात्रै सहजै बुझ्न सक्दछन् ।, यसरी बुद्ध दर्शनका कुरा उजागर गर्ने प्रयास भएको छ ।’, गोलेले भन्नुभयो,–‘अब आफ्नो इतिहास लेख्नुपर्छ । पहिला लेखिएका इतिहास मिलेन । हाम्रो जस्तो लेखिएन । अब म कागजमा कपिमा लेख्दिन । देशको निधारमा मेरो इतिहास लेख्छु भनेर यो कृतिमा भनिएको छ । साथै देवता अनि मानिसहरुको सृष्टिको कुरा, त्यससँगै संस्कारको कुरा छ ।’

तामाङका विषयहरुलाई अरु भाषामा पनि कसरी अभिव्यक्त गर्न सकिन्छ भनेर यो कृति ल्याएको लेखक निरुभक्त वाइबाले बताउनुभयो ।

‘यसमा हाम्रो संस्कृति, संस्कार, इतिहासका कुरा, उत्पत्ति र सभ्यताको कुरा मात्र नभएर बौद्ध दर्शनका कुुराहरु पनि छन् । मलाई मन छोएको दार्शनिक पाटोका कुराहरु पनि ल्याउने बल गरेको छु ।’ लेखक वाइबाले भन्नुभयो,–‘यो त मेरो विम्ब हो । विम्बको माध्यमबाट मैले मेरो कुराहरु उल्लेख गरेको छु । खस नेपाली भाषामा ल्याएपनि तामाङका कुराहरु, मिथकहरु, इतिहासको पाटो बाहिर उजागर गर्ने प्रयास गरेको छु ।’

१०३ पृष्ठको यो कृति भित्र ३६ वटा विविध विषयवस्तु समेटिएका कविता संग्रहित छन् । यसअघि कवि वाइबाले ‘ह्याङदा थोबो जुसी रप्ना लबा खला ?’ कविता संग्रह र ‘ग्ले तगुर’ नाटक पाठकसामु ल्याइसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !