काठमाडौं–वानीरा फाउन्डेसनले ‘नेपाली भाषासाहित्यको सिर्जनामा साढे छ दशकअघिदेखि निरन्तर साधनारत एवं नेपालको उच्चशिक्षाको श्रीवृद्धिका लागि समेत समर्पित’ प्राध्यापक रामकुमार पाँडेलाई २०८१ सालको ‘वानीरा प्रज्ञा पुरस्कार’ समर्पण गरिएको छ ।

राजधानी काठमाडौँमा स्थापित वानीरा सभागृहमा बुधबार आयोजित एक समारोहमाझ फाउण्डेशनका अध्यक्ष इन्दिरा प्रसाईले ‘चित्रकलाको आराधनामा विगत सात दशकदेखि अनवरत साधनारत रही अन्तर्राष्ट्रिय जगत्मा समेत नेपालको गौरव बढाएबापत’ श्री शशि शाहलाई भने ‘वानीरा शङ्कर पुरस्कार’ समर्पण गर्नुभयो ।

यी दुवै पुरस्कारका राशि जनही एक एक लाख रुपियाँ रहेको छ ।

समारोहमा ‘कविता सिर्जनाका माध्यमबाट नेपाली भाषासाहित्यको संवर्धनमा सदैव समर्पित रही उल्लेख्य योगदान दिएबापत’ कविवर श्री कृष्ण बाउसेलाई पचास हजार रुपियाँ राशि सहित ‘वानीरा पुरस्कार’ समर्पण गरियो ।

समारोहमा पुरस्कृत व्यक्तित्वहरुबाट डा.वानीरा गिरिकृत कवितासङ्ग्रह ‘एउटा एउटा जिउँदो जङ्गबहादुर’को नयाँ संस्करणको लोकार्पण गरिएको थियो । यसअघि वानीरा सङ्ग्रहालयमा अवस्थित डा.गिरीको पूर्ण कदको सालिकमा वानीरा फाउन्डेसनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईबाट माल्यार्पण गरिएको थियो ।

इञ्जिनियर शङ्कर गिरीको प्रवल इच्छा बमोजिम वानीरा फाउन्डेसनको भवन तथा सङ्ग्रहालयको स्थापना भएको हो ।

वानीरा फाउन्डेसनका अध्यक्ष प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा पुरस्कृतहरु प्रा.रामकुमार पाँडे, शशि शाह, कृष्ण बाउसे तथा वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक इन्जिनियर शङ्कर गिरि, कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट वानीरा गिरिबारे मन्तव्य प्रकट भएको थियो ।

प्रतिक्रिया दिनुहोस !