
काठमाडौँ । बेलायतका अधिराजकुमार डूयक अफ एडिनब्रा एडवार्ड र उनी श्रीमती डचेस सोफी नेपाल भ्रमण आएका छन् ।
उनीहरूलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टाछुट्टै आगमनका क्रममा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र परराष्ट्र मन्त्रालयका अन्य उच्च अधिकारीहरूले स्वागत गरेका थिए । नेपाल आएलगत्तै उनीहरुले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेट गरेका छन् ।
भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।
त्यसक्रममा नेपालले सगरमाथा संवादको थालनी गर्न लागेको राष्ट्रपति पौडेलले जानकारी दिए । उक्त मञ्चको पहिलो संस्करण आगामी १६ देखि १८ मेसम्म काठमाडौंमा ’जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य’ विषयमा आयोजना हुन गइरहेको उनको भनाइ थियो ।
राष्ट्रपति पौडेलले बेलायतका राजपरिवारका सदस्यहरूबाट विभिन्न समयमा हुँदै आएका नेपाल भ्रमणले दुई देशबीच रही आएको सुमधुर सम्बन्धलाई अझ मजबुत पार्न योगदान दिएको बताए । साथै उनले महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपबाट सन् १९६० र १९८६ मा नेपालको राजकीय भ्रमण भएको स्मरण गरे ।
भ्रमणका क्रममा उनीहरू काठमाडौँस्थित बेलायती राजदूतावास, गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान, अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड), पोखरालगायत स्थानमा भ्रमणमा जाने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
‘ब्रिटिस–गोर्खा’ द्विपक्षीय सम्बन्धको महत्वपूर्ण कडी
सोही अवसरमा राष्ट्रपति पौडेलसमक्ष बेलायती सेनाको ‘गोर्खा–ब्रिगेडका’ प्रमुख मेजर–जनरल जेराल्ड स्ट्रिकल्याण्डले ‘ब्रिगेड अफ गोर्खा’ को सन् २०२४ को वार्षिक प्रतिवेदन पेस गरे ।
राष्ट्रपति पौडेलले प्रतिवेदन प्रस्तुत गरेकामा बेलायत सरकारप्रति आभार प्रकट गर्दै ‘ब्रिटिस–गोर्खा’ द्विपक्षीय सम्बन्धको महत्वपूर्ण कडी भएको बताए । ।उनले पूर्वब्रिटिस गोर्खाका केही जायज गुनासा सम्बोधन गर्न गठन भएको ‘द्विपक्षीय संयन्त्र’ मा सकारात्मक छलफल भइरहेको विश्वास व्यक्त गरे ।