
बनेपा–नेपाली भाषामा मगर कथानक चलचित्र ‘उखान’ काभ्रेको बनेपामा पनि प्रदर्शन गरिने भएको छ । यो चलचित्र यहि असोज १७ गते घटस्थापनाका दिन बिहान ९ बजे बनेपाको शुभकामना हलमा प्रदर्शन हुन लागेको हो ।
हरेक मगर बस्तीहरुमा जाने अभियान अनुसार देशका विभिन्न स्थानका दर्शकमाझ पुगेको यो चलचित्र काभ्रेका मगर सुमदायका साथै अन्य समुदायका दर्शकलाई समेत लक्षित गर्दै दशैंको अवसरमा बनेपामा च्यारिटो गर्ने तयारी पूरा भएको निर्देशक प्रकाश कुमार दर्लामीले बताउनुभयो ।
मगर कथानक भएपनि नेपाली भाषामा भएकोले चलचित्र ‘उखान’ अन्य समुदायका दर्शकले समेत सहज रुपमा बुझ्ने भएकोले हेर्न आउन सम्पूर्ण दर्शकहरुमा निर्देशक दर्लामीले निमन्त्रणा गर्नुभयो ।
चलचित्र ‘उखान’ ले मगर भाषा, संस्कार तथा भेषभुषा लोप हुनुका कारण र संरक्षणका सवाल, मगर जातिको प्रचलनअनुसार सालिभेनाको विशेष अधिकार, जारी उठाउने चलन, मगर आफ्नो पहिचान जोगाउनु पर्ने सन्देशको साथमा भरपुर मनोरञ्जन समेत प्रदान गर्ने कथा लेखन समेत गरेका निर्देशक दर्लामीको भनाई छ ।
सुरजको द्धन्द निर्देशन, सुजन श्रेष्ठको छायांकन, युवराज खत्रीको सम्पादन रहेको यो चलचित्रमा कोरियोग्राफी जस्मिन मगरको रहेको छ ।
चलचित्रको निर्मातामा टेक बहादुर अस्तानी, देवकुमार दर्लामी, सहनिर्माता निर्मला थापा, सुनिता आले र कार्यकारी निर्माता मेक आले हुनुहुन्छ भने व्यवस्थापकमा कुमार राना मगर हुनुहुन्छ ।
यस ‘उखान’ चलचित्रमा मुख्य रुपमा प्रकाश कुमार दर्लामी, खड्क बहादुर पुन (खबपु), कविता आले, रिमा काउचा मगर, धन माया सोति मगर, हेमा पुन, काजिमान पुलामी मगर, मेक आले, बलबिक्रम थापा, सावित्री राना, शंकर सुनुवार, लक्ष्मी श्रेष्ठ, उषा मगर, मेक आले, दीपक योगी लगायतका कलाकारहरुको शसक्त अभिनय रहेको जनाईएको छ ।