काभ्रेपलाञ्चोक‐ जिल्लाको भुम्लु गाउँपालिका र रोशी गाउँपालिकामा भूमि प्रशासन सेवा सुरु गरिएको छ । सरकारले पहिलो चरणमा ३५ वटा स्थानीय तहमा भूमि प्रशासन सेवा प्रारम्भ गर्ने निर्णय अनुसार छनौटमा परेका काभ्रेको भुम्लुमा शुक्रबार र रोशीमा सोमबारदेखि सेवा थालिएको हो ।

अब यहाँका स्थानीय मालपोत र नापी सम्बन्धी सेवा लिन धुलिखेल धाउन नपर्ने भएका छन् । रोशी गाउँपालिकामा सेवा सुरुवातमै जग्गाको नक्सा पाएका वडा नं. ७ का मोहन सिं लामाले खुसी व्यक्त गर्नुभयो । जनताको घरदैलो सरकारको रुपमा स्थानीय सरकारलाई पाएको थप अनुभुति मिलेको उहाँको भनाई छ ।

उहाँलाई जग्गाको नक्सा प्रदान गरी गाउँपालिका अध्यक्ष दिनेश लामाले रोशीमा भूमि प्रशासन सेवा शुभारम्भ गर्नुभएको थियो । गाउँपालिका अध्यक्ष लामाका अनुसार रोशीका नागरिकलाई मालपोत र नापीको सेवा यसरी नै गाउँपालिकाबाट प्रदान गरिन थालिएको हो ।

स्थानीय तहमा सुरु गरिएको यो सेवाबाट छोटो समयमै संयौं लाभान्वित भइसकेका भुम्लु गाउँपालिका अध्यक्ष प्रेम भुजेलले बताउनुभयो । भुम्लु र रोशीमा हालसम्म पाँच सय ३१ परिवारलाई लालपुर्जा वितरण गरिसकिएको छ ।

एउटा नक्सा लिनसम्म पनि धुलिखेल आउनुपर्ने अवस्थामा स्थानीय सरकारको तदारुकताले बीच अहिले भूमि सम्बन्धी सबै प्रशासनिक कार्य स्थानीय क्षेत्रमै हुन थालेपछि स्थानीय जनता खुसी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस !