पनौती‐काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले प्रविधिमैत्री सेवा, सुशासन र समृद्ध नगर निर्माणको संकल्प साथ आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि आफ्ना नीति तथा कार्यक्रम अघि सारेको छ ।
पनौतीलाई आधुनिक, व्यवस्थित र नागरिकमैत्री समृद्ध नगरका रूपमा विकास गर्न महत्वपूर्ण आधार तयार गर्ने विश्वासका साथ गत शुक्रबार १९ औं नगरसभामार्फत नगर प्रमुख रामशरण भण्डारीले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
नगरपालिकाको कार्यालयदेखि वडातहसम्मका कार्यालयहरुले प्रविधिको उच्चतम प्रयोग गर्दै जनसेवा प्रवाह प्रभावकारी बनाउने उल्लेख छ ।
नगरपालिकाले सेवा प्रवाहलाई थप प्रभावकारी र पारदर्शी बनाउन डिजिटल प्रविधिको प्रयोग विस्तार गर्ने योजना अघि सारेको छ । यस अन्तर्गत नागरिकका लागि ‘माइ पनौती एप’ सञ्चालनमा ल्याइनेछ भने वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थामा विद्युतीय हाजिरी प्रणाली लागू गरिनेछ । सुरक्षित डिजिटल सञ्चारका लागि भीपीएन तथा क्लाउड ब्याकअप प्रणाली पनि प्रयोगमा ल्याइने जनाइएको छ । यसबाट पारदर्शी, जवाफदेशी व्यवहार एवं सुशासनमा महत्वपूर्ण भुमिका खेल्ने नगर प्रमुख भण्डारीको विश्वास छ ।
शिक्षा क्षेत्रतर्फ उच्च अध्ययनलाई प्रोत्साहन गर्ने उद्देश्यले विद्यावारिधि पूरा गर्ने नगरवासीलाई विशेष सम्मान तथा प्रोत्साहन रकम प्रदान गर्ने नीति लिइएको छ । स्नातकोत्तर तथा एमफिल तहका अनुसन्धान कार्यमा आर्थिक सहयोग गर्ने व्यवस्था पनि गरिएको छ। विद्यालयहरूमा सूचना प्रविधिमैत्री शिक्षण प्रणाली विस्तार गरिने तथा स्थानीय भाषा संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
नीति तथा कार्यक्रमले प्रविधि क्षेत्रका साथै शिक्षामा नमुना कार्यक्रम गर्नेमा जोड दिएको हो । एक वडा एक नमुना विद्यालय, एक वडा एक खेल मैदान कार्यक्रम सम्पन्न गर्ने,यसका साथै स्वास्थ्य, बिपद्का कारण बिस्थापितको अवस्थामा रहेका, भुमिहिन र अव्यवस्थित बसोबासीको भुमि सम्बन्धी समस्या समाधान गर्ने, पूर्वाधार तथा सांस्कृतिक सम्पदा संरक्षण लगायतका कार्यलाई प्राथमिकतामा राखेको पाइएको हो ।
कृषि क्षेत्रमा स्थानीय उत्पादनको ब्रान्डिङ गर्दै आलु, काउली र दुग्धजन्य उत्पादनको प्रवद्र्धन गरिने भएको छ । कृषकलाई अनुदान, कृषि उपकरण सहयोग तथा पशु स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख छ । यस कासथै कृषिमा बाली बिमा प्रभावकारी बनाउने प्रतिवद्धता पनि जनाएको छ ।
पूर्वाधार विकासलाई व्यवस्थित बनाउन ठूला योजनाहरू प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियामार्फत कार्यान्वयन गरिने भएको छ । सडक तथा अन्य संरचनाको डिजिटल अभिलेखीकरण गरिने र संरक्षणका लागि छुट्टै कोष स्थापना गरिने नीति लिएको छ । विपद् जोखिम न्यूनीकरणका लागि प्रारम्भिक चेतावनी प्रणाली विकास गर्ने तथा प्लास्टिकमुक्त नगर अभियानलाई निरन्तरता दिइने उल्लेख छ ।
स्वास्थ्य क्षेत्रमा नगर अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रहरूको सेवा विस्तार गरिने भएको छ । मानसिक स्वास्थ्य, बालरोग तथा महिला स्वास्थ्य सेवामा विशेषज्ञ पहुँच बढाइनेछ। ज्येष्ठ नागरिकका लागि घरमै स्वास्थ्य सेवा, निःशुल्क दन्त सेवा तथा मातृ स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रमलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । साथै नगरपालिकाले नगरमा रेबिज नियन्त्रण अभियानलाई तीव्र बनाउँदै सन् २०३० सम्म शून्य मृत्युको लक्ष्य हासिल गर्ने योजना समेत अघि सारेको छ ।
सांस्कृतिक तथा धार्मिक पर्यटन प्रवद्र्धनका लागि पनौतीको ऐतिहासिक दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गराउन पहल गरिने भएको छ । साथै, हराएका ऐतिहासिक मूर्तिहरू फिर्ता ल्याउन सम्बन्धित निकायहरूसँग समन्वय गरिने जनाइएको छ । धार्मिक तथा सांस्कृतिक महत्वका स्थलहरूलाई समेटेर दीर्घकालीन पर्यटन योजना पनि तयार गरिने भएको छ ।
नगरसभाबाट सर्वसम्मत रूपमा पारित भएको नीति तथा कार्यक्रमले पनौती क्षेत्रको ऐतिहासीक, धार्मिक, सांस्कृतिक शहरको मौलिकता प्रवद्र्धन, विकासमार्फत पर्यटन प्रवद्र्धन गर्नेमा समेत जोड दिएको पाईएको हो ।














