काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभक्त शक्तिहरु मजबुद भएका कारण मुलुकका प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएको बताएका छन् ।

आइतबारदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादी शक्तिहरु अमानवीयरुपमा एमालेविरुद्ध झुठा प्रचारमा लागेको बताएका हुन् ।

अध्यक्ष ओलीले एमालेको लोकप्रियता देखेर यसको लोकप्रियता घटाउन र एमालेलाई बदनाम गर्न विरोधीहरू लागेकाले पार्टीका सही नीतिका आधारमा एकताबद्ध भई झुठा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न निर्देशन दिए ।

उनले अब पार्टीमा गुटबन्दी र अराजकता अन्त्य गर्नुपर्ने बताए ।पार्टीका आन्तरिक विषय सार्वजनिक खपतका लागि प्रस्तुत नगर्न आग्रह गर्दै अध्यक्ष ओलीले पार्टीलाई विभाजन गरेर वा सिध्याइयो भनेर लड्डु खाएका कतिपय नेताहरुलाई अहिले लड्डु ओकल्नुपरेको पनि टिप्पणी गरे।

बैठकमा अध्यक्ष ओलीले ४३ पृष्ठको लिखित राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रतिवेदनमा प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध कुनै अभियान नचलाएको दाबी गरिएको छ ।

त्यस्तै, प्रचण्ड नेतृत्वको सरकार आफ्नालाई चोख्याउने अभियानमा केन्द्रित रहेको, ललितानिवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरूलाई र सुन तस्करीमा पूर्वसभामुख महरालाई जोगाएको दाबी प्रतिवेदनमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !