काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले झाराटारा गरेर पार्टी नचल्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले बिहीबार सय दिने अभियानअन्तर्गत आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका आन्तरिक गतिविधि झाराटारा किसिमले गरेर नहुने बताएका हुन् ।

पार्टीको संगठनलाई कागजी रुपमा मात्रै सीमित गर्न नहुने भन्दै उनले पार्टीलाई बलियो ढंगले अघि बढाउन सबै लाग्नुपर्नेमा जोड दिए ।

पार्टीभित्र असल संस्कार स्थापित गर्नुपर्ने भन्दै उनले अस्वस्थ संस्कारले कसैलाई फाइदा नगर्ने बताए । सिंहले कागजमा मात्र सदस्य संख्या भएर नहुने भन्दै उनले पार्टीका कार्यक्रमहरूमा सहभागिता बढाउनुपर्ने बताए ।

मुलुकको स्थायीत्व र विकासको नेतृत्व कांग्रेसले गर्नुपर्ने र त्यसका लागि पार्टीलाई व्यवस्थित राख्नुपर्नेमा सिंहले जोड दिए ।ठूला दल मिलेर सरकार बनाएको प्रति नकारात्मक टिकाटिप्पणी हुने गरेको भन्दै सिंहले जनताको राजनीतिक स्थायीत्व र स्थीरताको चाहनाअनुसार नै ठूला दल मिल्नुपरेको धारणा राखे ।

त्यस्तै उनले सरकार विधिको शासनमा प्रतिवद्द रहेको भन्दै बदमासी गर्नेमाथि विधिअनुसारनै अनुसन्धान र कारवाहीको प्रक्रिया अघि बढ्ने र अन्तिम फैसला सर्वाेच्च अदालतले गर्ने पनि बताए । सिंहले बिभिन्न आन्दोलनबाट प्राप्त अधिकारलाई सुरक्षित राख्दै मुलुकलाई आर्थिक लगायतका विकासतर्फ अघि बढ्नुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस !