धुलिखेल–काभ्रेपलाञ्चोक जिल्लाको मानवअधिकार अवस्थाका विषयमा मंगलबार धुलिखेलमा छलफल तथा समिक्षा भएको छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को पूर्व समिक्षाको क्रममा जिल्लाको मानव अधिकार अवस्थाबारे छलफल भएको हो ।

कार्यक्रममा पनौती नगरपालिका उपप्रमुख गिता बन्जाराले मानवअधिकार वर्ष पुस्तकले समाजमा उल्लेखनिय योगदान दिएको चर्चा गर्दै बाढी पहिरोपछि समाजमा मानसिक समस्या देखिएकाले समुदायको सशक्तिकरण, सचेतना र सामाजिकीकरणमा जोड दिन आग्रह गर्नुभयो । उहाँले जिल्लामा घरेलु हिंसा र सम्वन्ध विच्छेदका घटना बढेको बताउँदै हिंसा र अपराधलाई न्युनिकरण गर्न आवश्यक रहेको थप्नुभयो ।

नेपाल बार एशोसियसनका अध्यक्ष हरिशरण दाहालले आर्थिक मन्दीका कारण समाजमा अनुचित लेनदेनका घटना बढेको र सामाजिक समस्यालाई छलफलका माध्यमबाट समाधान गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विनोद न्यौपानेले गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघनका विषयलाई मेलमिलाप नभएर कार्वाहीको दायरामा लैजान सुझाउनु भयो । उहाँले वर्ष पुस्तकको साइज घट्नेगरी समाजमा सचेतनाका काम गर्न आवश्यक रहेको बताउनु भयो ।

मानवअधिकार सञ्जाल काभ्रेपलाञ्चोकका संयोजक भोजराज तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा तिमल्सिनाले समग्र जिल्लाको मानवअधिकार अवस्था उल्लेख गर्दै यस वर्ष मानवअधिकार बञ्चित भएका १६९ र घरेलु हिंसाका १८५ ओटा घटना इन्सेकमा अभिलेख भएको विषय उल्लेख गर्नुभयो ।

बाढीपहिरो, आत्महत्या, बैंकिङ कसुर, अपराध र विपत्तिका घटनाका कारण मानव अधिकारको अवस्थामा कमजोरी आएपनि सचेतनाका माध्यमबाट न्यूनिकरण गर्न जोड दिनुभयो । उहाँले घरेलु हिंसाका उजुरीमध्ये १२५ थान मुद्दा मिलापत्र भएपनि ५९ जना निवेदन दिएपछि सम्पर्कमा नआएको बताउनुभयो ।

पीडितमध्येका सबैभन्दा बढी जनजाति समुदायको रहेको र अन्र्तजातिय, प्रेम, बाल र अनमेल विवाहका कारण दाम्पत्य जीवनमा समस्या देखिएकाले आर्थिक मन्दी, राजनीतिक अर्थ व्यवस्था, न्यायिक समितिको कम प्रभावकारिता जस्ता कारणले ८२ वर्षका जेष्ठ नागरिक समेत पटक पटक प्रहरी कार्यालयमा आउनुपर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो ।

यस वर्ष जिल्ला अदालत काभ्रेपलाञ्चोकमा ३ थान घरेलु हिंसाका मुद्दा परे पनि अदालतमा सम्वन्ध विच्छेदका ५४६ थान मुद्दा परेको र कारागारमा कोठा नपुगेर टेन्ट राखेर बस्नुपर्ने बाध्यता रहेको उहाँले थप्नुभयो ।

कार्यक्रममा पनौती नगर उपप्रमुख गिता बन्जारा, नेपाल बार एशोसियसन काभ्रेका अध्यक्ष हरिशरण दाहाल, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, गैसस महासंघका केन्द्रीय सदस्य टोम सापकोटा, मानवअधिकार संगठन बागमति प्रदेशका अध्यक्ष राजु सिग्देल, माइती नेपालकी जिल्ला कार्यक्रम संयोजक गायत्री गौतम, जिल्ला प्रहरी कार्यालय महिला तथा बालवालिका सेवा केन्द्रकी राजकुमारी प्यासी श्रेष्ठ, जिल्ला अदालत काभ्रेपलाञ्चोककी अधिकृत हिराकुमारी भण्डारी, सक्रिय प्लस नेपालका कमल बन्जारा र महिला अधिकारकर्मी कल्पना विश्वकर्माले मन्तव्य राख्नु भएको हो ।

इन्सेक प्रतिनिधि सुमित्रा आचार्यको सहजिकरणमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव नगेन्द्र अधिकारी, पूर्व अध्यक्ष मोतिराम तिमल्सिना, प्रहरी निरिक्षक रमेश थापा, रासस काभ्रेका प्रमुख राजकुमार पराजुली, अधिबक्ता जमुना पसछें लगायत ४० जनाको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस !